सेनाका जवानले एमाले कार्यकर्ता माथि खुकुरी प्रहार गरे

सेनाका जवानले एमाले कार्यकर्ता माथि खुकुरी प्रहार गरे
जनसरोकार

दैलेखको दुल्लु नगरपालिकामा एमाले कार्यकर्तामाथि खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएको अभियोगमा पक्राउ परेका चारमध्ये एकजना नेपाली सेनाका जवान रहेको पुष्टी भएको छ । नगरपालिकाको ७ नम्बर वडामा एमाले बिजयी भएपछि एमाले कार्यकर्ताले बिजय जुलुस निकाल्दा विवाद भएको थियो ।

जुलुस सकेर घरमा बसेका एमाले कार्यकर्तामाथि खुकुरी प्रहार गर्दा ७ जना घाइते भएका छन् । खुकुरी प्रहारको नेतृत्व गर्ने प्रेमबहादुर भण्डारी सहित नगेन्द्र भण्डारी, शक्ति सुनार र प्रेम सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकामध्ये प्रेमबहादुर भण्डारी नेपाली सेनाको रणभैरव गणमा कार्यरत सैनिक रहेको इलाका प्रहरी कार्यालय दुल्लुका इन्सपेक्टर धु्रवकुमार श्रेष्ठले बताए । उनी बुवा बिरामी भन्ने निवेदन दिएर घरबिदामा आएको जानकारी प्रहरीलाई प्राप्त भएको तर उनको बुवाको १० वर्षअघि नै मृत्यु भएको श्रेष्ठले बताए ।

खुकुरी प्रहारबाट घाइते हुने एमाले कार्यकर्ताहरु तिलक उपाध्याय, भगतलाल बानिया, बालकुमारी योगी, सुर्जा पाण्डे, सतानन्द पाण्डे, फुर्ति पाण्डे, पूर्ण पाण्डेको दुल्लु अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका अभियुक्तमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने तयारी प्रहरीले जनाएको छ ।यसैबीच एमालेले दैलेखका बिभिन्न ठाउँमा बिजय जुलुस गर्न समेत कांग्रेसले नदिएको भन्दै सुरक्षा माग गरेको छ । जिल्लाका सांसद तथा एमाले नेताहरुले जिल्ला प्रशासन समक्ष सुरक्षा माग गरेका छन् ।
ठाँटीकाँध गाउँपालिकामा बिजय जुलुस गर्दा कांग्रेस कार्यकर्ताले ढुंगा प्रहार गरी २० जना घाइते भएको एमाले केन्द्रीय प्रचार बिभाग सचिव विष्णु रिजालले बताए ।

Post Comment