स्थानीय चुनाव अन्तर्गत पोखरा महानगरपालिकको पूरै परिणाम आउन बाँकी रहँदै कांग्रेसको लज्जाजनक हार भएको स्वीकार गर्दै कांग्रेस पोखरा नगरसभापतिले शुक्रबार राजीनामा दिएका छन् ।
पोखरा महानगरपालिका र कास्कीका गाउँपालिकामा कांग्रेसको निराशाजनक परिणाम आएको भन्दै नेपाली कांग्रेस पोखरा नगर सभापति बजिरमान श्रेष्ठले शुक्रबार राजीनामा हुन् । श्रेष्ठले विज्ञप्ति जारी गरी निराशाजनक परिणामको जिम्मेवारी लिँदै राजीनामा दिएको उल्लेख गरेका छन् ।
शुक्रबार बिहानसम्म पोखराका ११ वटा वडाको परिणाम आइसक्दा कांग्रेसले ७ वटा वडामा विजय हासिल गरे पनि मेयरमा भने अग्रता लिन सकेको छैन । कास्कीका ४ गाउँपालिकामध्ये ३ वटामा मा एमाले र १ वटामा कांग्रेसले जितेको छ ।
‘पोखरा महानगरपालिकामा नेपाली कांग्रेस को निराशाजनक परिणाम आइरहेको अवस्था मा नेपाली कांग्रेसको यो दुखद परिणामका प्रति मेरो पनि जिम्मेबारी रहेको महसुस गर्दै नगर सभापतिको पदबाट राजिनामा दिने निर्णय गरेको छु, ’ उनले भनेका छन्, ‘मेरो यो राजिनामा आक्रोसको परिणाम होइन ।
यसलाई नेपाली कांग्रेसको सांगठनिक शुद्धीकरण्का लागि नेपाली कांग्रेस संगको मेरो लामो सहयात्रा र मेरो सांगठनिक इमान्दारीताको उचाई बाट निस्किएको आवाज हो भनेर बुझिदिनु हुन सबैमा अनुरोध गर्दछु ।’
यो अप्रत्यासित परिमाण का लागि लोकतन्त्र बिरोधि शक्ति भन्दा पनि नेपाली कांग्रेसको क्षेत्र , जिल्ला र केन्द्रीय नेतृत्वमा बसेका लोकत्रन्त्रको हिमायती हौ भन्ने व्यक्तिहरुको उदासिन, गैर जिम्मेबार र आत्मघाती व्यवहार बढी जिम्मेबार भएको आरोप उनले लगाएका छन् ।
नेपाली कांग्रेसको विभिन्न तहमा रहेको नेताहरुमा देखिएको ब्यक्तिबादी सोच, संकीर्णता र गैर जिम्मेबारीपनको प्रभाब पार्टीको स्थानीय तहमा रहेको कार्यकर्ताहरुमा पनि बढ्दै जादा पोखरा महानगर पालिका र कास्कीका गाउँपालिकामा लज्जास्पद हार ब्योहर्नु परेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
कांग्रेसका इमान्दार र कर्मठ सदस्यहरु को सहयोग का बाबजुद पनि कांग्रेस कास्कीको यो निराशाजनक परिणामका निम्ति पार्टीको तर्फबाट केन्द्रिय कार्यसमितिमा प्रतिनिधित्व गर्ने अधिकांश केन्द्रिय सदस्य, सांसदहरु, जिल्ला कार्य समिति तथा क्षेत्रीय कार्यसमितिका सभापति र पदाधिकारी, महाधिबेशन प्रतिनिधि र महासमिति सदस्यहरु जिम्मेबारीबाट संबेदनशील हुन नसकेको उनको ठहर छ ।
सांगठनिक र सामाजिक नैतिकताको आधारमा पार्टी विरुद्धको अन्तर्घात, गैर जिम्मेबारीपन र उदासिनताको जिम्मेबारी लिँदै नेपाली कांग्रेसलाई विनिर्माण, पुन संरचना र पुनः गठन गरि ऐतिहासिक उचाइलाई प्राप्त गर्न उनले अनुरोध गरेका छन् ।
आफूलाई पोखरा महानगर समितिको सभापति बनाउन सहयोग गर्ने सम्पूर्ण क्रियाशील सदस्यहरु र मेरो सबै शुभ चिन्तकप्रति उनले आभार ब्यक्त गर्दै कांग्रेस र मुलुकको लोकतान्त्रिक आन्दोलन लाई पुनः ऐतिहासिक सुवर्णमय दिनमा फर्काउनका लागि मेरो क्रियाशीलतामा कुनै कमी आउन नदिने प्रतिबद्धता उनले जनाएका छन् ।