पोखरा लेखनाथ महानगरपालिकाको सम्पूर्ण मतगणना कार्य रोकिएको छ । वडा नम्बर १७ को मत गणनाको क्रममा मतपत्रको कागज फरक भएको, मतदान गर्ने स्वस्तिक छाप केही चाक्लो र रंग फरक भएको भन्दै एमाले बाहेकका दलले मतगणना बहिस्कार गरेपछि मतगणना रोकिएको हो । फर्जी भनिएको मतपत्रमा निर्वाचन अधिकृतको २ वटा हस्ताक्षर रहेको बताइएको छ । सो मतपत्रमा सूर्यमा प्यानल भोट हालिएको छ । त्यसरी भेटिएको मतपत्र संख्या ८-१० वटा भएको गणनामा सहभागि कांग्रेस र माओवादी प्रतिनीधिको आरोप छ ।
तर सहायक निर्वाचन अधिकृत खुमप्रसाद भण्डारीले दोश्रो संविधानसभामा प्रयोग गरिएको स्वस्तिक छाप भएकाले केही चाक्लो भएको हुनसक्ने बताए । कांग्रेस-माओवादीले विवादित वडामा पुनः मतदान हुनुपर्ने माग गरेका छन् । उनीहरुले निर्वाचन आयोगले समाधान नखोजेसम्म मतगणनामा नबस्ने घोषणा गरेका छन् ।