संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानमार्फत प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्न आफ्नो दल तीनै तहको निर्वाचनमा सहभागी हुने उद्घोष गरेका छन् । उनले मधेस केन्द्रित अन्य दलहरुसमेत स्थानीय तह निर्वाचनमा सहभागी हुने बताए ।
संघीय प्रेस फोरम नेपाल, धनुषाले आइतबार गरेको पत्रकार सम्मेलनलाई संबोधन गर्दै फोरम अध्यक्ष यादवले संघीय गणतन्त्रलाई असफल बनाउन प्रतिगमनकारीहरु षड्यन्त्र गरिरहेको उल्लेख गर्दै यस्ता षड्यन्त्रहरुलाई परास्त गर्न तथा बाँकी अधिकारका लागि संघर्ष गर्ने बताए । यादवले वैशाख १७ गते हुनै लागेको संविधान संशोधनलाई असफल बनाउन दरबारिया शक्तिहरुले षड्यन्त्र गरेको दाबी गर्दै भने–‘वैशाख १७ गते संविधान संशोधन हुने पक्का थियो । पक्षमा ४ सय १ सांसद पुगिसकेका थिए तर दरबारिया शक्तिहरुले १० सांसदलाई गायब पारे ।’
संविधान संशोधन हुने विषयमा फोरम अध्यक्ष यादव विश्वस्त देखिएका थिए । एक चरणको निर्वाचन दुई चरणमा गर्ने सरकारको निर्णय संविधान संशोधनको पहिलो संकेत भएको उल्लेख गर्दे उनले क्याविनेट निर्णयबाट तराई मधेसमा जनसंख्याको आधारमा स्थानीय तहको संख्या वृद्धि हुने दाबी गरे । स्थानीय तहमा मधेस केन्द्रित सम्पूर्ण दल सहभागी हुने दाबी गर्दै उनले यसका लागि राष्ट्रिय जनता पार्टी तथा विजयकुमार गच्छेदार नेतृत्वको फोरम लोकतान्त्रिकसँग समेत सकारात्मक छलफल भइरहेको खुलासा गरे ।