स्थानीय तहको पहिलो चरणको निर्वाचनमा दूरदराजका मतदाताले कांग्रेसलाई भोट दिए पनि सहरका सचेत मतदाताले कांग्रेसलाई अस्वीकार गरेको कांग्रेसको रामचन्द्र पौडेल समुहले निश्कर्ष निकालेको छ । पार्टी नेतृत्वको गतल नीतिका कारण कांग्रेस पराजीत हुन पुगेको वताउँदै दोस्रो चरणको चुनावअघि नेतृत्वले जनतासँग माफी माग्नु पर्ने पनि पौडेल समुहको निश्कर्ष छ ।
सोमबार पौडेलको अनमनगरस्थित सम्पर्क कार्यालयमा निर्वाचन समीक्षाका लागि पौडेल समुहको बैठक बसेको थियो । बैठकले सभापति देउवाका कारण पार्टी पराजित भएको विश्लेषण गर्दै पार्टी नेतृत्वले गम्भीर गल्ती गरेको निश्कर्ष निकालेको हो । बैठकले दोस्रो चरणको चुनावमा गल्ती सच्याउन नसके पार्टी समाप्त हुने समेत चेतावनी दिएको छ ।
बैठकमा सहभागि पौडेल पक्षका केन्द्रीय सदस्यहरुले सभापति देउवाले पार्टीलाई आफ्नो व्यक्तिगत स्वार्थका लागि उपयोग गरेको र आम मतदाताबीच कांग्रेसको लोकतान्त्रिक छवि नै समाप्त पारेको वताएका थिए । ‘चुनावको मुखमा प्रधानन्यायाधीश माथि महाभियोग लगाइयो, आइजीपी प्रकरण, राजदूत नियुक्ति प्रकरण यी सबै प्रकरणले कांग्रेस पद्दतिमा विश्वास राख्ने पार्टी होइन भन्ने सन्देश गयो’ बैठकमा सहभागिको भनाई उद्धृत गर्दै एक नेताले भने, ‘शेरबहादुरजीको प्रधानमन्त्री बन्ने स्वार्थमा पार्टीको नीति सिद्धान्त सबै समाप्त पारिएको सन्देश गएपछि कसरी चुनावमा सफलता पाइन्छ ?’
सहरी क्षेत्रका सचेत मतदाताले कांग्रेसको भूमिका माथि अविश्वास गरेको र त्यसै कारण दूरदराजका थोरै मतदाता भएका गाउँपालिकाका सिट जितेर मात्रै जीतको प्रचार गर्नु परेको उनीहरुले वताएका थिए । ‘सिट संख्या एकसय कटाएको भनेर हिसाव गर्नुको कुनै अर्थ छैन, ठूल्ठूला जनसंख्या भएका नगरपालिका र महानगरपालिकामा कांग्रेस पराजित हुनु पर्यो’ उनले भने, ‘यो लज्जास्पद ठाउँमा पुर्याउन पार्टी नेतृत्वले लिएको गलत नीति र भूमिका जिम्मेवार छ ।’ काठमाडौं भक्तपुर लगायत एकलौटी मतदाता भएका ठाउँमा पनि कांग्रेस पराजित हुनु परेको वताउँदै उनीहरुले दोस्रो चरणको निर्वाचन अघि नै गलत नीतिप्रति पार्टी नेतृत्वले जनतासँग माफी नमागे पार्टी नै समाप्त हुने उनीहरुले वताए ।
कांग्रेसको समर्थनमा बनेको सरकारले गरेका केही अक्ष्यम्य गल्तीका कारण सिंगो पार्टी दूरदराजका केही गाउँपालिका जितेर सन्तुष्ट हुनु परेको उनीहरुको निश्कर्ष थियो । ‘दूरदराजका थोरै जनसंख्या भएका गाउँपालिकाको संख्या जितेको छ । तर, सहरी क्षेत्रका सचेत मतदाताले अस्वीकार गर्नु कांग्रेसको ठूलो क्षति हो’ बैठकमा सहभागि नेताहरुले भनेका थिए, ‘सरकारमा बसेर गरेका अक्ष्यम्य गल्तीका कारण यस्तो भएको हो । दोस्रो चरणको चुनावअघि जनतासँग माफी नमागे पार्टी नै समाप्त हुन्छ ।’
माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरीलाई जिताउन भरतपुर महानगरमा गरेको तालमेलका कारण घना जनसंख्या भएको सिंगो चितवन कांग्रेसको हातबाट गुमेको उनीहरुको निश्कर्ष थियो । चितवनमा रेणु दाहाललाई भोट माग्न पार्टी सभापति जानु गम्भीर गल्ती भएको र पोखरामा प्रधानमन्त्री दाहाललाई लगेर कांग्रेसलाई भोट माग्न लगाउन नसकेपछि पदका लागि कांग्रेस नेतृत्वले जे पनि गर्छ भन्ने सन्देश प्रवाह भएको उनीहरुको निश्कर्ष थियो ।
बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, नेताहरु, बलबहादुर केसी, गोविन्द भट्टराई, दिलेन्द्रप्रसाद बडू, धनराज गुरुङ, कल्याण गुरुङ, हृदयराम थानी लगायत नेताहरु थिए ।