पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा दिएसँगै देशमा झन् अन्योल थपिएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेको छ ।
अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बुधबार साँझ बसेको स्थायी समिति बैठकले प्रधानमन्त्री पदमा कांग्रेस सभापति शेरबहादुर देउवालाई टक्कर दिनेगरी उम्मेदवार खडा गर्ने निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिए ।
अब एमाले प्रधानमन्त्रीको दौडमा छ कि छैन भन्ने सञ्चारकर्मीको जिज्ञासामा सचिव भट्टराईले संसदीय अभ्यास गर्दै आएको पार्टी कुनै पनि संसदीय अभ्यासबाट पछि नहट्ने परि आए एमाले संसदीय प्रक्रियाअनुसार जान तयार रहेको स्पष्ट पारेका थिए ।
बैठकमा प्रधानमन्त्रीको राजीनामा र विकसित पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भएको बताउँदै सचिव भट्टराईले प्रधानमन्त्रीको राजीनामा उनको व्यक्तिगत, पार्टीगत र सत्ता गठबन्धन पार्टीभित्रको निर्णय भएकाले कुनै टिप्पणी नरहेको उल्लेख गरे ।
स्थायी समिति बैठकले आगामी जेठ ३१ गतेको दोस्रो चरणको निर्वाचन पुरानै संरचनाअनुसार हुनुपर्नेमा जोड दिएको छ । बजेट तथा नीति कार्यक्रमबारे छलफल गर्नुपर्ने बेलामा स्थानीय तह थप्ने र सीमाङ्कन हेरफेर गर्ने सरकारको निर्णयले दोस्रो चरणको निर्वाचन नै ओझेलमा परेको ठहर गर्दै बैठकले दोस्रो चरणको चुनाव पुरानै संरचनाअनुसार हुनुपर्ने भनेको हो ।