हार बारे कांग्रेसका उम्मेदवारले भने :पार्टीको स्थापित मुद्धालाई जनता समक्ष पुर्याउन सकेनौं (प्रेस विज्ञप्ती)

हार बारे कांग्रेसका उम्मेदवारले भने :पार्टीको स्थापित मुद्धालाई जनता समक्ष पुर्याउन सकेनौं (प्रेस विज्ञप्ती)
जनसरोकार

करिब दुई दशकपछि स्थानीय तहमा पहिलो चरणको निर्वाचन सम्पन्न भई नेपालमा लोकतन्त्रको जग थप मजबुद भएको छ । पोखरा लेखनाथ महागरका मतदाताले निर्वाचनमा उत्साहका साथ जुन रुपमा भाग लिए त्यसले लोकतन्त्र अभ्यासमा आम सर्वसाधारणहरुको ठूलो आस्था राखेको प्रमाणित भएको छ । लोकतन्त्रको मेरुदण्ड भनेकैे आवधिक निर्वाचन हो । निर्वाचनमा उम्मेदवारको हार र जित भन्दा अहिलेको जटिल समयमा निर्वाचन सफल रुपमा सम्पन्न हुनु लोकतन्त्रको जित हो । स्वस्थ तरिकाले भएको निर्वाचनमा लोकतन्त्रको पहरेदार पार्टी नेपाली कांग्रेसलाई मत दिने आदरणीय मतदाता, निर्वाचनमा भाग लिने अन्य मतदाता, अन्य राजनीतिक दल, सम्पूर्ण उम्मेदवारहरु, निर्वाचन गराउन खटिएका राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, चुनावी वातावरणलाई मलजल गर्ने संचारकर्मीलगायत धन्यवादका भागिदार हुनुहुन्छ । निर्वाचनमा आआफ्नो ठाउँबाट योगदान गरेर लोकतान्त्रिक अभ्यासलाई मजबुद बनाउन उहाँहरुले निर्बाह गरेको भूमिका अतुलनिय छ । संविधानको सर्वस्विकार्यता सहितको कार्यान्वयन एवं नेपालको राजनीतिलाई स्थिरताको बाटोमा लैजान महत्वपूर्ण कोसेढुंगा सावित भएको छ यो निर्वाचन र निर्वाचनको अभ्यास ।
लोकतन्त्रमा जित र हार भन्ने कुरा स्वभाविक छ । यो चुनावमा नेपाली काँग्रेसको तर्फबाट मेयर र उपमेयरको उम्मेदवारमा पराजय व्यहोर्नुपरे पनि हामी लगायत नेपाली कांग्रेसलाई मत दिने सबै मतदातालाई धन्यवाद दिन चहान्छौं । मेयर र उमपेयरमा पराजय व्यहोर्नुपरे पनि पोखरा¬ लेखनाथ महानगरको समग्र विकास र समृद्धिका लागि लोकतन्त्रको पहरेदारी, लोकतन्त्रलाई थप मजबुद बनाउनको लागि हामी सँधै कटिबद्ध भएर लाग्ने प्रण गर्दछौं । पराजयपछि हाम्रो सक्रियता घट्ने होइन, अझ बढ्ने विश्वास दिलाउन चहान्छौं । नेपाली काँंग्रेस र हामी उम्मेदवारलाई जिताउन दिनरात, असिना पानी घाम नभनी खटिने नेपाली कांग्रेसका इमानदार र निष्ठावान कार्यकर्ताहरु, अग्रज नेताहरु, पार्टीको जिल्ला समिति, नगर समिति, क्षेत्रीय समिति, वडा समिति, टोल समितिका सबै पदाधिकारी र सबै सदस्यहरु तथा नेपाली काँग्रेस सम्बद्ध विभिन्न भातृ एवं शुभेच्छुक संस्थाका साथहीहरुले पार्टीका ऐजेण्डालाई जनस्तरमा लैजान जुन खालको भूमिका निर्बाह गर्नुभो, उम्मेदवारहरुलाई जिताउन जसरी खटिनुभो त्यसको गुण हामी उम्मेदवारले कहिल्यै पनि तिरेर सक्दैनौं । हामी र उहाँहरु सबै लागेर पार्टी र लोकतन्त्रलाई बलियो बनाउने हो । हामीले लोकतन्त्रलाई बलियो बनायौं । निर्वाचनमा हामीले अपेक्षा गरे अनुसार परिणाम आएन तर, हामीले हारेका छैंनौ, लोकतन्त्रले जितेको छ । यो निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट पोखरा लेखनाथ महानगरपालिकाको विभिन्न वडामा बिजयी भएका वडा अध्यक्ष र सदस्यलाई बधाई छ । उहाँहरुले पोखरा–लेखनाथ महानगरका जनता, लोकतन्त्रको लागि अनि महानगरको मुहार फेर्नको लागि पार्टीको सिद्धान्त, आस्थाअनुरुप कार्य गर्नुहुनुेछ अनि जनताले विकास, लोकतन्त्र र सुशासनको अनुभूति गर्न पाउनेछन् भन्ने हाम्रो विश्वास छ । साथै पोखरा लेखनाथ महानगरपालिकाको मेयर, उपमेयर, वडा अध्यक्ष तथा सदस्यमा निर्वाचित सबैलाई हार्दिक बधाई ज्ञापन गर्दछौं ।
अहिलेको यो परिणामले हामी विचलित हुनुपर्ने कुनै कारण छैन । झन्डै ७० वर्षभन्दा लामो समय संघर्ष र आन्दोलनबाट खारिएर आएको पार्टीले निर्वाचनका परिणामलाई स्वभाविक रुपमा स्वीकारर्छ यो नेपाली काँग्रेसको परम्परा हो । निरंकुशताका विरुद्ध पनि नडगेको पार्टी आवधिक निर्वाचनको आधा परिणामले विचलित हुँदैन । देशको समृद्धि, जनताको सुख, शान्ति र खुसी नै कांग्रेसको प्रमुख लक्ष्य भएकाले त्यसका लागि काँग्रेस र कांग्रेसका हामी सिपाहीपंक्ति अहोरात्र खटिरहन्छौं । कांग्रेसकै बलबुताका कारण देशबाट निरंकुशताले धुलो चाटेको छ, तानाशाहीतन्त्रको अन्त्य भएको छ । शसस्त्र द्वन्द्व अन्त्य मात्रै होइन संविधान सभाको चिर्वाचन र लोकतान्त्रिक संविधान जारी भएको छ । सात दशकभन्दा लामो समय आन्दोलन र संघर्षले खारिएको यो पार्टीको भविश्य आगमी दिनमा झन् उज्वल छ ।
अहिलेको सरकारले २० वर्षसम्म हुन नसकेको स्थानीय निर्वाचन सम्पन्न गराउन सफल भएको छ । यो नै ठूलो उपलब्धी हो । यो निर्वाचनमा हामीलाई उम्मेदवार बनाएकोमा पार्टीप्रति आभारी छौं । निर्वाचनमा हाम्रो पार्टीले गरेका ऐतिहासिक र उल्लेखनीय उपलब्धी, समाजमा स्थापित गरिएका मुद्दाहरुलाई प्रभावकारी रुपमा जनतामाझ सञ्चार गर्न नसक्नु र विपक्षीले गरेका भ्रमपूर्ण, अतिरञ्जित प्रचारहरुलाई कुशलतापूर्वक चिर्न नसक्नु हाम्रो कमजोरी ठान्दछौं । यति हुँदाहुँदै पनि हामीलाई मतदाताले दिएको भारी मतले हामीलाई थप जिम्मेवार बनाई राख्नेछ । अन्तमाः नेपाली कांग्रेस र विशेष गरि हामीलाई मत दिने मतदातालाई फेरी पनि धन्यवाद दिँदै बाँकी समय सक्रिय रुपमा पार्टी र सामाजिक जीवनमा समर्पित रहने प्रण गर्दछौं ।
जय नेपाल ।

रामजी कुवँर सरस्वती गुरुङ
नेपाली काँग्रेसको तर्फबाट पोखरा लेखनाथ महानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवार
मिति ः २०७४।०२।१२

Post Comment