काठमाण्डौ महानगरपालिकाको मेयरमा नेकपा एमालेका विद्याशुन्दर शाक्य विजयी भएका छन् । शाक्य कांग्रेसका उम्मेदवार राजुराज जोशीलाई १९ हजार बढी मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।
१३ दिनसम्म चलेको मत गणना शनिबार मध्यरातमा सकिएको छ । तर, औपचारिक घोषणा आइतबार विहान मात्र भएको छ ।
शाक्यले ६४ हजार ९१३ मत पाएका छन् । उनका निकटमत प्रतिद्वन्द्वी कांग्रेसका राजुराजले ४५ हजार २६९ मत पाए ।
विवेकशील नेपाली दलकी रञ्जु दर्शना तेस्रो भइन् । उनले २३ हजार ४३९ मत पाएकी छन् । साझा पार्टीका किशोर थापा १८ हजार ४९६ मतसहित चौथो भएका छन् ।
कांग्रेसले हरिप्रभा खड्गी उपमेयरमा निर्वाचित भइन् । उनले ५८ हजार ९५२ मत पाइन् ।
उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८५४ मत पाए भने तेस्रो स्थानमा रहेकी साझा पार्टीकी निरुपमा यादवले ११ हजार ५३३ मत पाइन् ।
काठमाण्डुकै लगनटोलमा विसं २०२० जेठ ९ गते जन्मिएर त्यही माटोमा हुर्किएका शाक्यले अब आफ्नो टोलबाट करिब एक–डेढ किलोमिटरको मात्र दूरीमा रहेको बागदरबारको प्रमुखको कुर्सीमा पाँच वर्ष रहेर के के गर्ने भन्ने योजना पनि बुन्न थालेका छन् ।
त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयबाट विद्यालय प्रवेशिका उत्तीर्णपछि शाक्यले शङ्करदेव क्याम्पसबाट व्यवस्थापनमा स्नातकसम्मको अध्ययन पूरा गरेका थिए ।
विद्यार्थीकालदेखि नै राजनीति र समाज परिवर्तनको अठोट बोकेर हिँडेका शाक्यले आफ्नो यस सफलतालाई निरन्तरको योगदान र निष्ठाको प्रतिफल ठानेका छन् । शाक्य विसं २०३७ को जनमत सङ्ग्रहकाबेलादेखि नै राजनीतिमा सक्रिय बनेका थिए ।
प्रजातन्त्र प्राप्तिका हरेक आन्दोलनमा उत्तिकै सक्रिय शाक्य एमालेको भ्रातृ सङ्गठन तत्कालीन राष्ट्रिय युवा सङ्गठनको काठमाण्डुको संस्थापक कोषाध्यक्ष हुँदा करिब दुई दशकदेखि एमालेको जिल्ला कमिटीमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका उनी हाल सो कमिटीको जिल्ला सचिव छन् ।
विसं २०४९ मा भएको स्थानीय निकायको निर्वाचनमा काठमाण्डु वडा नं २१ को अध्यक्षका उम्मेदवार बने । सूर्य चिह्न फहराउँदै उनको विजय र जनताको प्रत्यक्ष सेवाको जिम्मेवारी यात्रा सुरु भयो ।
आफूले बढी मत पाउने अपेक्षा गरे पनि आशा गरेअनुरुप मत अझै प्राप्त नगरेको बताउने शाक्यले अब आफू एमालेको उम्मेदवार नभई जनताको साझा प्रतिनिधि भएकाले जनताको मतको सम्मान हुने काममा खट्ने दृढता व्यक्त गर्छन् ।
उनले कार्यकाल सुरु गरेको पहिलो एक सय दिनभित्र गर्ने एक सय एक कामका योजना र प्रतिबद्धता यसअघि नै सार्वजनिक गरिसकेका छन् । त्यसमध्ये ८४ वर्ष नाघेका वृद्धवृद्धालाई वार्षिक रुपमा १२ हजार महानगर वृद्धभत्ता र सामाजिक सुरक्षा भत्तालाई क्रमिक रुपमा बढाएर मासिक पाँच हजारसम्म पुर्याउनेलगायत छन् ।
नेपाली र नेपाल भाषालाई महानगरको कामकाजको भाषाका रुपमा प्रचलनमा ल्याइने, नेपालको मौलिक संवत्का रुपमा रहेको नेपाल संवत्लाई पनि प्रचलनमा ल्याइने, संस्कृति र सम्पदासम्बन्धी प्रतिबद्धतामा वसन्तपुर दरबार क्षेत्र र त्यसको वरिपरिको भित्री सहरी क्षेत्रलाई समेटेर सांस्कृतिक पर्यटकीय सहरको विकास गरिने आदि उनका प्राथमिकताका क्षेत्र हुनेछन् ।