दोस्रो चरणको निर्वाचन फेरि सर्ने

दोस्रो चरणको निर्वाचन फेरि सर्ने
जनसरोकार

दोस्रो चरणको निर्वाचन फेरि सर्ने भएको छ । यसअघि ३१ जेठका लागि तोकिएको निर्वाचन सरकारले सोमबार मात्रै ९ असारमा सार्ने निर्णय गरेको थियो । तर, त्यस दिन मुस्लिम समुदायको पर्व रमजान परेकाले थप पाँच दिन पछाडि सार्ने तयारी सरकारले गरेको छ ।

स्रोतका अनुसार निर्वाचनको नयाँ मिति १४ असारका लागि तोकिनेछ । आज (बुधबार) बस्ने मन्त्रिपरिषद् बैठकले नयाँ मिति तोक्ने प्रधानमन्त्रीमा राजनीतिक सल्लाहकार चक्रपाणि खनालले बताए ।

९ असारमा मिति सार्ने निर्णय गर्दा आफूहरूको पर्वलाई बेवास्ता गरेको भन्दै मुस्लिम समुदायले विरोध जनाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार सत्तासाझेदार दल कांग्रेस, निर्वाचन आयोग र मुस्लिम समुदायका प्रतिनिधिसँग छलफल गरेका थिए । ‘मुस्लिम समुदायको पर्वका कारण थप पाँच दिन चुनाव सार्ने भन्ने कुरा आएको छ, प्रधानमन्त्रीले निर्वाचन आयोगका पदाधिकारी लगायत मुस्लिम समुदायका प्रतिनिधिसँग राय माग्नुभएको छ,’ प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले नयाँ पत्रिकासँग भने, ‘९ असारको निर्वाचन मितिमा पुनर्विचार हुन्छ ।’ उनका अनुसार सरकारले अब बस्ने मन्त्रिपरिषद् बैठकबाट निर्वाचन सार्ने विषयमा निर्णय लिनेछ । स्रोतका अनुसार सरकारले १४ असारमा स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति घोषणा गर्ने गरी छलफल चलाएको छ ।

मंगलबार बिहान प्रधानमन्त्रीले मुस्लिम समुदायका प्रतिनिधिलाई आफ्नै सरकारी निवास बालुवाटार बोलाई थाहा नभएका कारण ९ असारको मिति तोकिएको जानकारी गराउँदै त्यसमा पुनर्विचार गर्न सरकार तयार रहेको बताएका थिए ।

Post Comment