भरतपुर महानगरपालिकाको मतगणनाको क्रममा ९० वटा मतमा क्षति पुगेको पाइएको छ । निर्वाचन आयोगको निर्देशनबमोजिम क्षति पुगेका मतको संख्या यकिन गर्न पोका खोल्ने क्रममा ९० वटा मत क्षतिपुगेको अवस्थामा पाइएको हो ।
मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेको नेतृत्वमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारका प्रतिनिधि, प्रमखु जिल्ला अधिकारी सुरक्षा निकायका प्रमुखलगायतको उपस्थितिमा शिलबन्दी गरेर राखिएका पोका खोलिएको थियो । अब मुख्य निर्वाचन कार्यालयले क्षति पुगेको मतको संख्या उल्लेख गरी निर्वाचन आयोगलाई जानकारी गराएपछि पुनः मतदान वा मतगणना गर्ने भन्ने विषयमा आयोगले निर्णय लिनेछ ।
यसअघि जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुखले भने माओवादीका दुई प्रतिनिधिले मतपत्र च्यात्न सुरु गरेलगत्तै पक्राउ गरिएको र धेरै मतपत्र क्षति नभएको सञ्चारमाध्यमलाई बताएका थिए । गत १४ गते राति १९ नम्बर वडाको मतगणनाको क्रममा मतपत्र च्यातिएको हो । माओवादीका तर्फबाट मतगणनामा सहभागी रहेका प्रतिनिधिले मतपत्र च्यात्न थालेपछि त्यहाँ विवाद चर्किएको थियो । त्यसक्रममा दुईजनालाई प्रहरीले पक्राउ गरेको थियो । दुवैजना आजै चितवन जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भइसकेका छन् ।
मतपत्र च्यातेको अभियोगमा पक्राउ परेका माओवादीका दुई कार्यकर्ता एक-एक लाख रुपैयाँ धरौटीमा छुटेका छन् । चितवन जिल्ला अदालतका न्यायाधीश बासुदेव पौडेलको एकल इजलासले उनीहरूलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
मतपत्र च्यातेको आरोपमा मधु न्यौपाने र द्रोण सिवाकोटीलाई प्रहरीले पक्राउ गरेको थियो ।