कमल थापाले भने:- कांग्रेसले देश डुवायो ,संकटमा फसायो

कमल थापाले भने:- कांग्रेसले देश डुवायो ,संकटमा फसायो
जनसरोकार

राप्रपा अध्यक्ष कमल थापाले यो मुलुकको संकटको जिम्मेवार नेपाली कांग्रेसको हात भएको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको आइतबार आयोजित कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकलाई सम्वोधन गर्दै राप्रपा अध्यक्ष थापा नेपाली कांग्रेसप्रति खरो रुपमा प्रस्तुत भएका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारमा सहभागी हुनका लागि पठाएको निम्तोपत्रमाथि छलफल गर्न आयोजना गरिएको बैठकको प्रारम्भमै अध्यक्ष थापा नेपाली कांग्रेसविरुद्ध खनिएका हुन् ।

यो देशमा संकट आएकै कांग्रेसले गर्दा हो भन्दै अध्यक्ष थापाले देउवा सरकारमा पार्टी सहभागी नहुने संकेत गरेका थिए ।

बैठकमा कार्यसम्पादन समितिका बहुमत नेताहरुले ४ वटा मन्त्रालय लिएर भए पनि राप्रपा सरकारमा सहभागी हुनुपर्ने मत राखेका थिए ।

सरकारमा जानु हुँदैन भन्ने कमल थापाको मतलाई ध्रुवबहादुर प्रधान लगायतले समर्थन गरेका थिए ।

तर, विक्रम पाण्डे, सुनीलबहादुर थापा, बुद्धिमान तामाङ, दीपक बोहोरा, रामचन्द्र राय लगायतका नेताहरुले राप्रपा सरकारमा सहभागी हुनुपर्ने मत राखेका थिए ।

तर, अध्यक्ष कमल थापाले सरकारमा सहभागी हुनुपर्छ भन्नेहरुको बहुमत हुने स्थिति देखेपछि संसदीय दलको बैठकबाट निर्णय गरौंला भन्दै बैठक स्थगन भएको थियो ।

बैठकपछि राप्रपा नेता पशुपति समशेर राणाले बहुमतको निर्णय मानिँदैन भने पार्टीभित्र ‘डिजास्टर’ हुन सक्ने भन्दै कमल थापामाथि असन्तुष्टि पोखेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र एमालेसँग सहकार्य गरेर अघि बढ्ने कि नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने भन्नेबारे दुई धार देखिएको छ ।

Post Comment