कांग्रेस सभापति शेरबहादुर देउवाको निगाहमा तरुण दलको अध्यक्ष बनेका जितजंग बस्नेतले लामो समयपछि आइतबार प्रेस विज्ञप्ति जारी गरे ।
अध्यक्ष बस्नेतद्वारा जारी प्रेस विज्ञप्तिमा एमाले, राप्रपा र मसाललाई गाली गरिएको छ । बस्नेतले एमालेलाई चेतावनी दिँदै संसद अबरोध नगर्न भनेका छन् । राप्रपाले प्रधानमन्त्री निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने निर्णय गरिसकेको छ ।
मुलुकमा राजनीतिक उतारचढाव कसरी भइरहेको छ भनेर ध्यान दिन नसक्ने अध्यक्ष बस्नेतले आफ्नै पार्टीका सभापति देउवालाई मतदान गर्न लागेको दल राप्रपालाई विज्ञप्ति जारी गरेर गाली गर्नुले उनी कहाँबाट कसरी सञ्चालित छन् ? भन्ने प्रश्न उब्जिएको छ ।
एमाले र मसाललाई गाली गर्नु उनका लागि ठीकै होला ! तर, राप्रपालाई गाली गरेर तरुण दलका अध्यक्ष बस्नेतले राम्रो नगरेको कांग्रेसका एक केन्द्रीय सदस्यले बताए । ‘राजनीति बुझ्दै नबुझेको मान्छेलाई तरुण दलको अध्यक्ष बनाउँदाको फल हो यो’, ती केन्द्रीय सदस्यले भने, ‘पार्टी सभापति शेरबहादुर देउवाको निगाहमा तरुण दलको अध्यक्ष बनेका जितजंग बस्नेत राजनीतिक व्यक्ति होइनन् ।’
हुन पनि पोखरा महाधिवेशन सम्पन्न भएदेखि अहिलेसम्म तरुण दलको बैठक बसेर महत्वपूण निर्णय गरेको देख्न र सुन्न नपाइएको तरुण दलकै एक केन्द्रीय पदाधिकारीले बताए ।
स्थानीय तहको पहिलो निर्वाचनका बेला पनि तरुण दललाई चुनावी प्रचार–प्रसारमा परिचालन गर्न नसकेको भन्दै जितजंग बस्नेतको कांग्रेस र तरुण दलभित्रै आलोचना पनि भएको छ ।
दोस्रो चरणको चुनाव आउँदै गर्दा बस्नेतले तरुण दललाई परिचालन गर्ने गरेर कुनै पनि योजना अहिलेसम्म नबनाएको एक पदाधिकारीले बताए ।
स्रोतका अनुसार तरुण दलका अध्यक्ष बस्नेत आजकाल ठेक्कापट्टा दिलाइ दिने, प्रहरीमा सेटिङ मिलाएर कमिशन खाने कार्यमा संलग्न छन् । बस्नेतले एक महिना अगाडि प्रहरीभित्रको सेटिङ मिलाउने भन्दै उच्च प्रहरी अधिकृतलाई लिएर सभापति देउवाको निवास बुढानिलकण्ठमा पुगेका थिए । प्रहरी अधिकृतलाई लिएर आएको देखेपछि देउवाले अध्यक्ष बस्नेतलाई तथानाम गाली गरेर भगाएको चर्चा तरुण दलभित्र आजकाल हुने गरेको छ ।