कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले तीन वटा निर्वाचन समयमैं गर्नुलाई आफ्नो चुनौती भएको बताएका छन् । दुई दिनअघि प्रधानमन्त्रीमा निर्वाचित भएका देउवाले पार्टी निकटको नेपाल विद्यार्थी संघले गरेको ‘स्थानीय निर्वाचन परिचालन अभिमुखीकरण’ कार्यक्रममा दोस्रो चरणको निर्वाचन, प्रदेश र केन्द्रीय संसदको निर्वाचन समयमैं गर्नु नै आफ्नो सरकारको चुनौती भएको बताएका हुन् ।
‘१४असारमा दोस्रो चरणको निर्वाचन गर्नुछ । त्यसपछि माघ ७ सम्म प्रदेश र संसदको निर्वाचन गरिसक्नुपर्ने चुनौती कांग्रेसलाई छ’ देउवाले भने, ‘सात सालदेखि लड्दै त्यसपछिका सबै आन्दोलनमा नेतृत्व गर्दै प्रजातन्त्रलाई सदुृढ गर्ने पार्टी नेपाली कांग्रृेस नै भएकोले फेरि पनि मिलेर यो चुनौतीलाई सामान गर्नुपर्छ ।’ कांग्रेसले जित्दा मात्र युवाहरुको भविष्य सुनिश्चित हुने भएकोले पनि अब युवाहरु कांग्रेसलाई जिताउन लाग्नुपर्ने उनको भनाई छ ।
प्रधानमन्त्री देउवाले कांग्रेसमा भोलिका नेता युवा संघका विद्याथी र नेता भएको भन्दै ‘युथफोर्स’को जस्तो तागत देखाउन आग्रह गरे । ‘भोलिका नेता नै नेविसंघमा नेता हुन् । युवा पुस्तालाई भोलिको नेपाल बनाउने जिम्मेवारी आउँदैछ । त्यसैले अब नेविसंघले ‘युथफोर्स’को तागत देखाउने बेला आएको छ ।’
कार्यक्रममा कांग्रेस नेता रामचन्द्र पौडेलले धेरै आकांक्षीका बीचबाट निर्वाचनमा टिकट दिनुपर्ने हुँदा हुन सक्ने अन्तर्घात रोक्न नेविसंघका नेतालाई निर्देशन दिए । ‘१० देखि १५ जना दाबेदारका बीचबाट जम्मा एउटाले टिकट पाउँछन् यस्तोमा नपाउने असन्तुष्ट हुन्छन्’ पौडेलले भने, ‘त्यसकारण सबैलाई एकत्रित गर्ने जिम्मा नेविसंघले लिनुपर्छ । अब निर्वाचनमा हुन सक्ने अन्तर्घात रोक्ने जिम्मेवारी नेविसंघले लिनुपर्छ ।’
पहिलो चरणको निर्वाचनमा सहरी क्षेत्रमा हारेको तर्फ संकेत गर्दै पौडेलले दोस्रो चरणको निर्वाचन कांग्रेसका लागि परीक्षाको घडी भएको बताए । ‘निर्वाचन कांग्रेसका लागि परीक्षणको घडी हो’ पौडेलले भने, ‘निर्वाचनलाई सफल पार्न सकिएन भने अरु प्रदेश र संसदको निर्वाचन बिथोलिन सक्छन् । संविधान कार्यान्वयनमा असर पुग्छ । त्यसैले निर्वाचन सफल पार्न सबै एक हुनु जरुरी छ ।’