राजपाको कारण चुनाव नहुने सम्भावना

राजपाको कारण चुनाव नहुने सम्भावना
जनसरोकार

दोस्रो चरणको चुनाव असार १४ मा पनि नहुने सम्भावना बढेको छ ।

सत्तारुढ गठबन्धनले असार १४ मै चुनाव गर्ने बताइरहे पनि राष्ट्रिय जनता पार्टीको दबाबका कारण चुनाव नहुने देखिएको छ । काँग्रेस, एमाले र माओवादी राजपालाई लिएर चुनावमा जाने मनस्थितिमा देखिए पनि राजपाभित्रकै आन्तरिक कलहका कारण चुनाव हुने सम्भावना नै कम देखिएको छ ।

प्रधानमन्त्रीमा देउवालाई भोट हालेर सत्तारुढ पार्टी बनेको राजपा आफैले चुनावमा भाग लिन शर्त राखिरहेको छ । राजपाका अध्यक्ष महन्थ ठाकुर र नेताहरुले बिहीबार देशका बिभिन्न ठाउँमा भएका कार्यक्रममा चुनाव बहिष्कार गर्ने बताएका हुन् ।

धनुषाको औरही गाउँपालिकाको कपटौलमा बिहीबार आयोजित विरोध सभा एवम् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राजपाका अध्यक्ष ठाकुरले आफूहरु चुनावको विरोधमा नभई अधिकारका लागि आन्दोलित रहेको बताए ।

कार्यक्रममा राजपाका उपाध्यक्ष वृशेष चन्द्रलालले बलपूर्वक गरिने निर्वाचनबाट सिजृना हुने घटनाको जिम्मेवारी सरकार स्वयम्ले लिनुपर्ने उल्लेख गर्दै संविधान संशोधनबिना निर्वाचनको कल्पना समेत गर्न नसकिने बताए ।

यसैगरी, राष्ट्रिय जनता पार्टी नेपालकै अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभए राजपा कुनै पनि हालतमा चुनाबमा सहभागी नहुने दोहोर्याए ।

जनकपुरको कपलेश्वरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले मधेसको मुद्दालाई कसैले कमजोर ठानेर अगाडि बढ्यो भने यो कसैका लागि हितकर नहुने धारणा राखे ।

महतोले भने, “मधेसीको माग सम्बोधन नगरी जÞर्वजस्ती गराएको निर्वाचनको कुनै अर्थ रहँदैन र यसले देश झन द्वन्द्वमा फस्न सक्ने भएकाले यसतर्फ राज्य गम्भीर हुनुपर्दछ ।”

महासचिव राजिव झाले मधेसीको माग पुरा नगरी मधेसमा चुनाव गराउने कुरा दीवास्वप्न वाहेक केहि नहुने बताए ।

Post Comment