निर्वाचन आयोगले असार १४ गते प्रदेश नम्बर १, २, ५ र ७ मा स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेको छ । तर, प्रमुख राजनीतिक दलहरु भने चुनाव सार्ने विषयमा छलफल गरिरहेका छन् । चुनाव सार्नका लागि मधेसकेन्द्रित दल राजपाले तारन्तार सरकारलाई दबाब दिइरहेको छ । राजपाले लिखित प्रतिबद्धता जनाए २ र ५ नम्बर प्रदेशको चुनाव सार्न सकिने संकेत सरकारले दिईसकेको छ ।
संविधान संशोधन र मधेसका माग पुरा नगराई राजपा चुनावमा जान चाहन्न । मधेस आन्दोलनका क्रममा थुप्रैले ज्यान गुमाएकाले त्यसबाट आउने सहानूभुतिको श्रेय राजपा आफै राख्न चाहन्छ । जसकारण निर्वाचनको बेखेडा झिकेर ऊ संविधान संशोधनको विषयलाई निर्वाचनसँग बार्गेनिङका रुपमा राखिरहेको छ । तर, प्रमुख राजनीतिक दलहरु भने चुनावअघि संविधान संशोधनको पक्षमा छैनन् । उपेन्द्र यादवको पार्टी निर्वाचनमा सहभागी हुने भएपछि उनीमाथि मधेसका मुद्धा छाडेको आरोप लागाउँदै राजपा मधेसको भोट आफूतिर तान्न चाहन्छ । त्यसैले ऊ चुनावमा नजाने बरु आन्दोलनमार्फत मधेसका मुद्धा उठाउँदै जसरी हुन्छ चुनाव बिथोल्ने पक्षमा छ । यसरी चुनाव नहुने देखेपछि दलहरु संविधान संशोधनका लागि राजी हुने र त्यसको श्रेय आफूले लिने राजपाको मनसाय छ । २ र ५ नम्बरको चुनावलाई तेस्रो चरणमा लैजाने र दोस्रो चरणको चुनावपछि संविधान संशोधन गर्ने सहमति भए ऊ चुनावका लागि तयार हुनसक्ने राजपाका एक नेताले बताए ।
सरकारले चुनावको मिति घोषणा गरेसँगै राजपाका नेताहरु लैनचौरस्थित भारतीय दूतावास धाएका थिए । छलफलमा राजपाका नेताहरुलै चुनावको मिति सारिएको भएपनि चुनावमा जाने वातावरण नरहेको विवरण भारतीय राजदूत मञ्जिवसिंह पुरी समक्ष पेश गरेका थिए । भारतले पनि राजपाले जे चाहन्छ, सोही बमोजिम आफूहरु सहयोगका लागि तयार रहेको बचन दिएको स्रोत बताउँछ । जसकारण राजपा चुनाव सार्ने विषयमा थप बलियो भएर प्रस्तुत भएको र प्रमुख राजनीतिक दलहरुलाई दबाब बढेको राजनैतिक विश्लेषक बताउँछन् । चुनाव हुनु र नहुनुमा भारतलाई कुनै सरोकार नरहेपनि ऊ राजपासँगको सम्बन्ध बिगार्न चाहन्न । किनकि राजपा नेपालमा भारत समर्थकको रुपमा चिनिदै आएको छ । यता प्रचण्डदेखि शेरबहादुर देउवा सरकार गठनमा कहीँ न कतै भारतको सहयोग रहेको आँकलन नेपालको राजनैतिक बृत्तमा हुने गरेको छ । त्यसैले देउवा र प्रचण्ड भारतको चाहनाविपरित राजपालाई पेलेर जान सकिरहेका छैनन् ।
राजपा चुनावमा सहभागी नभएपनि चुनाव गर्ने पक्षमा सत्ता गठबन्धन कांग्रेस र माओवादी केन्द्र छन् । राजमा चुनावमा सहभागी नभएको खण्डमा मधेसबाट राजपालाई आउने भोट आफूहरुलाई नै आउने उनीहरुको ठम्याई छ । साथै चुनावको पक्षमा रहेका स्थानीय नेतालाई आफ्नो पार्टीमा ल्याउन सकिने मनसाय पनि कांग्रेस–माओवादी केन्द्रको रहेको छ । तर, आफूहरु सरकारमा रहेकाले सकेसम्म सहमतिमै अघि बढ्ने पक्षमा उनीहरु छन् । मधेसमा एमालेको छबी बिग्रिएको अवस्थामा उपेन्द्र यादव पनि यो दाउँमा छन् । त्यसैले स्थानीय तहको चुनावको मिति घोषणा हुँदा (पहिलो चरणको निर्वाचन हुनुअघि) चुनाव सार्नुपर्छ भन्ने यादव यतिबेला कुनै हालतमा चुनाव सार्न हुँदैन भन्दै हिँडेका छन् । मधेसका प्रमुख राजनैतिक शक्ति मिलेर राजपा गठबन्धन बनाएपछि उतिबेला सबैभन्दा बढी तनाबमा यादव छन् ।
चुनावको विषयलाई लिएर यतिबेला सबैभन्दा बढी तनाब प्रधानमन्त्री शेरबहादुर देउवालाई छ । चुनाव कांग्रेस मात्र नभएर उनकै व्यक्तिगत प्रतिष्ठासँग पनि जोडिएको छ । निवर्तमान प्रधानमन्त्री प्रचण्डले पहिलो चरणको निर्वाचन सम्पन्न गरेर आफ्नो कार्यकाल सफल पारेको अवस्थामा बाँकी रहेका प्रदेशमा समयमै निर्वाचन सम्पन्न गर्नु देउवाका लागि प्रतिष्ठाको विषय बनेको छ । त्यसैले उनी जसरी हुन्छ तोकिएकै समयमा चुनाव गर्ने पक्षमा छन् । तर, उनीमाथि सबै पक्षलाई समेटेर चुनाव गर्नुपर्ने अर्को चुनौति पनि छ । साथै भारतका विश्वासपात्र मानिने देउवालाई भारतले राजपाको पक्ष लिएपछि अर्को संकट देखिएको छ । त्यसैले उनले सबै पक्षलाई मिलाएर चुनाव पर्ने मनसाय बनाएका छन् । तर, यो देउवाले सोचेजत्ति सजिलो भने छैन । स्थानीय पछि प्रदेश र केन्द्रको चुनाव पनि मंसिरभित्र गर्नुपर्ने र माघसम्म संविधान कार्यान्वयन गर्नुपर्ने भएकाले देउवाका लागि सत्ता निल्नु न ओकल्नु हुँदै जाने धेरैले विश्लेषण गरेका छन् । यसअघि आफ्नो बिग्रिएको पछी सुधार्ने र कांग्रेसलाई प्रदेश र संसदीय चुनावमा पहिलो पार्टी बनाउन देउवाले सबै चुनाव समयमै गर्नुपर्ने र जनताको मन जित्नुपर्ने हुन्छ । यसमा उनी कत्तिको सफल हुन्छन्, त्यो भने हेर्न बाँकी नै छ ।
?
अहिलेको अवस्थामा तत्काल संविधान संशोधन हुने देखिदेन । र, संशोधनबिना राजपा यही मितिमा चुनावमा सहभागी हुने पनि कुनै संकेत छैन । राजपा चुनावमा सहभागी नभए उसले मधेसमा चुनाव विरोधी गतिबिधि गर्ने देखिन्छ । जसकारण हिंसा भड्कन सक्ने छ । यस्तो अवस्थामा रापमासँग लिखित सहमति गरेर २ र ५ वा २ नम्बर प्रदेशको चुनाव सार्न सक्ने सम्भावना छ । यसै विषयमा छलफल गर्न बुधबार सत्ता गठबन्धन, प्रमुख प्रतिपक्ष र राजपासहितको संयुक्त बेठक बस्दै छ । बैठकपछि थप कुरा बाहिर आउनेछ ।