राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले चुनाव सार्ने सरकारको निर्णयको विरोध गरेका छन् ।
सरकारले राजपाकै सहमतिमा दुई नम्बर प्रदेशको चुनाव असोज २ गतेका लागि सार्ने निर्णय गरेका बेला महतोले सर्लाही पुगेर भने– ‘चुनाव सार्ने हाम्रो मुद्दा होईन, मधेशको माग पुरा गराउनु हाम्रो लक्ष्य हो ।’
आज सर्लाहीको बलरामा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै महतोले सरकारले कथित २ नम्बरको चुनाव स्थगित राजपाले भनेर नभई बाध्यताले गरेको बताए । । महतोले मधेश थारूवान र लिम्बूवानको माँग पूरा नभए सम्म आन्दोलन नरोकिने पनि प्रष्ट पारे ।
राजपा र सरकार बिच कुनै लिखित वा मौखिक सहमति नभएको र सरकारको निर्णय मधेशी जनतालाई विभाजित गर्ने षड्यंत्र भएको आरोप समेत महतोले लगाए । संवैधानिक दायराभित्र रहेर आन्दोलन गरिरहेका मधेशीलाई अवमूल्यन गरी सरकारले तराई–मधेशमा जबरदस्ती चुनाव गराउन खोजे मुलुक ठूलो द्वन्द्वतर्फ जाने चेतावनी दिँदै महतोले राजपा चुनावमा जान तयार रहेकोले चुनावको वातावरण बनाउन सरकारसँग आग्रह गरे ।
राजपा अध्यक्ष मण्डलका अर्का अध्यक्ष अनिल झाले नेपालको संविधान मधेसमैत्री नहुन्जेलसम्म राजपा नेपाल स्थानीय चुनावमा नजाने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष झाले सरकार तथा सत्तापक्षले संविधान संशोधन गरेर मधेस र मधेसीलाई उनीहरुको हकअधिकारको ग्यारेन्टी नगरेसम्म मधेसमा कुनै पनि चुनाव नहुने बताए ।