माओवादी केन्द्रले चुनावमा भ्रम पारेर सुकुम्बासी भोट बटुल्न घरधनी पुर्जा वितरण गर्यो

माओवादी केन्द्रले चुनावमा भ्रम पारेर सुकुम्बासी भोट बटुल्न घरधनी पुर्जा वितरण गर्यो
जनसरोकार

स्थानीय तहको चुनाव हुन केही दिन बाँकी रहँदा माओवादी केन्द्रले सुकुम्बासी बस्तीमा नमुना प्रमाणपत्र भनेर ‘घरधनी पूर्जा (बसोबासको) प्रमाणपत्र वितरण गर्न थालेपछि नेपाल बसोबास बस्ती संरक्षण समाजले आपत्ति जनाउँदै सुकुम्बासीमाथि भ्रमको राजननीति नगर्न चेतावनी दिएको छ । समाज मुलुकभरको सुकुम्बासीहरुको अधिकार स्थापनाका लागि बनेको साझा संस्था हो ।

माओवादी केन्द्रले निर्वाचन आचारसंहिताविपरीत शुक्रबार धरानका तीनसय बढी सुकुम्बासीलाई नमुना घरधनीपूर्जा विरतण गरेको थियो । समाजका केन्द्रीय महासचिव कुमार कार्कीले सुकुम्बासीले अस्थायी घरधनी पुर्जा नमागेर अरु नेपाली नागरिकले पाउने वैधानिक धनिपुर्जा मागेको बताए । उनले भने, ‘नेपालमा हालसम्ममा २३ वटा बनेका सुकुम्बासी आयोगले पनि यसअघि दुईलाख सुकुम्बासीलाई अस्थायी धनिपुर्जा दिएकै थियो तर त्यस्तो धनिपुर्जा हामीले चाहेको होइन । माओवादी केन्द्रले पनि चुनावको मुखमा भ्रम पारेर भोट बटुल्न घरधनी पुर्जा वितरण गरेको देख्दा आश्चार्य लागेको छ ।’

उनले सबै दलको घोषणपत्र समाजले हेरिसकेको बताए । कुनै पनि दलले मुलुकभरका लाखौं सुकुम्बासीलाई धनिपुर्जा दिने, उनीहरुको शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा केही पनि उल्लेख नगरेको महासचिव कार्कीले बताए । कार्कीले नेपालका सुकुम्बासीमाथि खोज अनुसन्धान गरेर पाँचसय पेजको पुस्तक नै प्रकाशित गरेका छन् । समाजले सुकुम्बासीलाई आधिकारिक धनीपुर्जा दिने, शिक्षा स्वास्थ्य र रोजगारीको व्यवस्था गर्ने प्रतिवद्धता जनाउने दलका उम्मेदवारलाई मात्र मतदान गर्न समेत आव्हान गरेको छ ।

दलहरुले सुकुम्बासीको भोट तान्न घोषणा पत्रमा भिजनमात्र दिएको तर मिसन नदिएको समाजले जनाएको छ । उनले भने, ‘सबैले घोषणा पत्रमा सुकुम्वासी व्यवस्थापन गर्ने भनेका छन् । तर, कार्यान्वयन कसरी गर्ने भनेर भन्न नसकी अलमलिएका छन् । सबैले सुकुम्बासीको भोट तान्ने मेलोमेसो मात्र बनाएका छन् । अब जुन दल र तिनका उम्मेदवारले मिसन भिजन र कार्यान्वयनको प्रतिवद्धता जनाउँछ उसैलाई सुकुम्बासीको मत जान्छ ।’

समाजले मुलुकभर ७० लाख सुकुम्बासी रहेको र २५ ला मतदाता रहेको जनाएको छ । प्रदेश न १ मा १२ लाख ५० हजार सुकुम्बासी रहेकोमा ५ लाख मतदाता रहेको समाजले जनाएको छ ।

यसैबीच धरानमा माओवादी केन्द्रले वितरण गरेको घरधनी पुर्जा निर्वाचन कार्यालयले प्रहरी प्रशासनको सहयोगमा रोकेको छ । निर्वाचन कार्यालयले माओवादी केन्द्रलाई पनि आचारसंहिताविपरीत घरधनी पुर्जा रोक्नको लागि निर्देशन दिइएको धरानस्थित निर्वाचन कार्यालयका प्रमुख जयप्रसाद महतले बताए ।

माओवादी केन्द्रका मेयरका उम्मेदवार आइन्द्रबिक्रम बेघाले आफूहरुले जितेपछि ‘यस्तो नमुना धनीपूर्जा’ दिने भनेर प्रतिवद्धता मात्र जनाएको बताए । उनले प्रतिवद्धताका लागि यस्तो नमुना घरधनी पूर्जा हुन्छ भनेर देखाउन मात्र वितरण गरेको बताए । उनले भने, ‘हामी धनीपूर्जा दिने निकाय पनि होइनौं । मतदाताहरुलाई जानकारीको लागि नमुना धनीपूर्जा बनाएर प्रतिबद्धता जनाएको हौं ।’

समाजको धरान उपमहानगर समिति अध्यक्ष आइतबहादुर लिम्बूले सुकुम्बासीको संस्था समाज कुनै पनि दलको भातृसंगठन होइनौं र माओवादी केन्द्रको विरोधी पनि होइनौं तर यस्तो भ्रम नछर्न चेतावनी दिएको बताए । उनका अनुसार धरानमा १९ हजार ५ सय सुकुम्बासी मतदाता रहेको समाजसँग तथ्याङ्क छ । धरानमा सुकुम्बासीको ‘न्यूट्रल’ मत निर्णायक हुदै आएको बेला दलहरुले पनि सुकुम्बासीको ‘न्यूट्रल’मत तान्न आचारसंहिताविपरीत विभिन्न फर्जी गतिविधि गर्दै आएका छन् ।

 

Post Comment