ओलीलाइ चुम्बन गर्ने महिलाले भनिन् :-’मन थाम्नै नसकेर गरेँ, पछिचाहिँ अरुले के भने होला भन्ने लाग्यो’

ओलीलाइ चुम्बन गर्ने महिलाले भनिन् :-’मन थाम्नै नसकेर  गरेँ, पछिचाहिँ अरुले के भने होला भन्ने लाग्यो’
जनसरोकार

एमाले अध्यक्ष केपी ओलीलाई आफ्नै गृहजिल्लामा एकजना महिलाले ‘किस’ गरेको भिडियोमा शनिबार एकाएक चर्चामा आयो । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई सार्वजनिकस्थलमै चुम्बन गर्ने ती महिला को हुन् त ? यस विषयमा सर्वत्र चर्चा भयो ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले अनेक अड्कलबाजी गरे । उनी एमाले अध्यक्ष ओलीकी सानीमा हुन् ।

केपी ओलीलाई सार्वजनिक मञ्चमै चुम्बन गरेर चर्चामा आएकी ती महिला हुन्, सावित्रा थपलिया । उनी झापाको बिर्तामोड-९, गरामनीमा बस्छिन् । हामीले उनीसँग फोन सम्पर्क गर्दासम्म उनलाई आफूले ओलीलाई चुम्बन गरेको भिडियो भाइरल भएको कुरा थाहा रहेनछ । उनले आश्चर्य हुँदै भनिन्, ‘हो र ! केमा दिन्छ ? कुन टेलिभिजनमा ?’

उनलाई यूट्यूबको बारेमा थाहा रहेनछ । ‘भोलि तपाईंको छोरालाई भिडियो पठाइदिन्छौं, अनि हेर्नु होला’ भनेपछि उनी खुशी भइन् । र, धन्यवाद दिइन् ।

ओलीलाई चुम्बन गर्ने महिला ७० वर्षकी भइन् । केपी ओलीकी सानिमा हुन्, उनी । वास्तवमा ओलीसँग २५ वर्षपछि उनको भेट भएको रहेछ । उनी ओलीकी सानीमा मात्रै होइनन्, बालसखा पनि हुन् ।

‘उहाँ बुढामावलीमा हुर्किनुभएको थियो, त्यतिबेला हामीले एउटै थालमा भात खाएका थियौं’, उनले सम्झिइन्, ‘त्यसपछि उहाँ धेरै समय हराउनुभो । आन्दोलन, र के र के भनेर हराउनुभएको थियो ।’

थपलियाका अनुसार परिवारमा धेरैजना दाजुबहिनी थिए । र, ओलीसहित अरुले कतिपय बेलामा एउटै थालमा भात खान्थे ।

लामो समयको अन्तरालपछि ओलीसँग भेट हुँदा आफूले मन थाम्नै नसकेको थपलियाले बताइन् । र, भनिन्, ‘२५ वर्षपछि भेट हुँदा हर्षले एक्कासी चुम्बन गरेँछु ।’ उनले थपिन्, ‘पछिचाहिँ अरुले के भने होला भन्ने लाग्यो ।’

स्टेजमा चढेर ओलीलाई उनले सुरुमै ‘मलाई चिन्नु भो’ भनेर सोधिन् । ओलीले ‘नमस्कार गर्दै सानिमालाई चिन्दिनँ के त’ भने ।

त्यसपछि केहीबेर सामान्य भलाकुसारी भए । थपलियाका अनुसार ओली उनका जेठी फूपूका नाति हुन् । उनले ओलीलाई कतिबेला देखौं भन्ने मनमा लागेको बताइन् ।

Post Comment