एमालेबाट मेयर उम्मेदवारको घरमा शक्तिशाली बम विस्फोट

एमालेबाट मेयर उम्मेदवारको  घरमा शक्तिशाली बम विस्फोट
जनसरोकार

धरान उपमहानगरपालिकाको एमालेबाट मेयर उम्मेदवार तारा सुब्बाको घरमा आज बिहान ६ बजेर चालिस मिनेटमा शक्तिशाली बम विस्फोट भएको छ ।

धरान–११ मंगलबारे नजिकैको रमाइलो चोकमा रहेको सुब्बाको घरको कम्पाउण्ड भित्रै अज्ञात समूहले बम फालेर पूर्वको गल्ली तिर भागेको प्रत्यक्षदर्शी रन्जीत राईले बताए । उनका अनुसार सेतो सर्ट र हाफपेन्ट लगाएर आएका दुइ युवा सरासर आएर सुब्बाको घरको कम्पाउण्ड भित्र बम फालेर भागेका थिए ।

मेयरका उम्मेदवार सुब्बा त्यसबेला आफ्नै कोठा बसीरहेका थिए । अचानक घर अगाडिको फुलबारीमा ठूलो विस्फोट भएको आवाज सुनेपछि बाहिर निस्कँदा कोही पनि नदेखेको बताए । उनले भने, ‘सायद चुनाव विरोधी तत्वले उम्मेदवारलाई धम्की दिएको होला । जनताको अभिमत लिनका लागि गरिएको चुनावमा बम विस्फोट गर्दैमा मलाई ज्यानको परवाह छैन ।’

बम विस्फोटपछि तत्कालै पुगेका वडा प्रहरी कार्यालयका इन्चार्ज जेबी लिम्बुले अनुसन्धान भइरहेको बताए । बम विस्फोट बारे कसैले पनि जिम्मा लिएका छैनन् ।

Post Comment