राजपा नेपालका नेता मनिष सुमनले सरकारलाई दिएको समर्थन एक/दुई दिनभित्रै फिर्ता लिने र एमालेसँग सम्बन्ध विस्तार गर्ने स्पष्ट पारेका छन् ।
रिपोर्टर्स क्लब नेपालमा सोमबार आयोजित साक्षात्कारमा नेता सुमनले भने, ‘एमाले अहिले सुध्रिएको छ, राजपा र एमालेबीच अब सम्बन्ध सुधारको लागि पहल भइरहेको छ ।’
सुमनले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको समर्थन फिर्ता लिनेबारे आन्तरिक छलफल सुरु गरिसकेकाले केही दिनभित्रै निर्णय लिने बताए ।
उनले राजपा नेपालसँगकै सहमतिमा निर्वाचन सारिएको भनेर प्रधानमन्त्री देउवाले दिएको अभिव्यक्तिलाई गलत र मिथ्याको संज्ञा दिए । उनले भने, ‘देउवाजीले भनेको कुरा गलत हो, के उनी हाम्रा प्रवक्ता हुन् र ?’
उनले हालै सम्पन्न भएका स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन जबर्जस्ती गरिएको भन्दै यस्तो निर्वाचनको कुनै अर्थ नहुने टिप्पणी गरे । उनले भने, ‘यो निर्वाचन भनेको क्षणभरको खुशीमात्रै हो ।’
सुमनले तेस्रो चरणको निर्वाचनलाई पनि कथित निर्वाचनको रुपमा लिएको बताए । हालै भएका निर्वाचनलाई उनले शाही निर्वाचनको संज्ञा दिए ।