३०८ स्थानीय तहको परिणाम सार्वजनिक

३०८ स्थानीय तहको परिणाम सार्वजनिक
जनसरोकार

दोस्रो चरणमा चुनाव भएका ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये बुधबार बिहानसम्म ३०८ स्थानको मतगणना सकिएको छ । अब २८ स्थानीय तहको मात्र मतपरिणाम आउन बाँकी छ ।

अहिलेसम्म १३५ स्थान जितेर नेकपा एमाले अग्रस्थानमा छ । मतगणना भइरहेका १७ स्थानमा अग्रता राख्दै एमालेले दोस्रो चरणमा पनि पहिलो स्थान सुरक्षित गरेको छ ।

दोस्रो दल बनेको नेपाली कांग्रेसले ११७ स्थान जितेको छ । त्यस्तै, माओवादी केन्द्र ३६ स्थानीय तह जितेर तेस्रो स्थानमा छ । संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिकले ६/६ स्थानीय तह जितेका छन् ।

राप्रपा ४ स्थानीय तह जितेर छैटौं स्थानमा रहेको छ भने २ स्थानीय तह जितेको राष्ट्रिय जनमोर्चा  सातौं स्थानमा छ । २ स्थानीय तहमा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

२७ स्थानीय तहको मतपरिणाम आउन बाँकी रहँदा अधिकांश ठाउँमा गणना भइरहेको छ । धरान उपमहानगरपालिका, झापाको अर्जुनधारा नगरपालिका, मोरङको पथरी शनिश्चरे नगरपालिकामा विवादका कारण मतगणना स्थगित छ ।

प्रदेशगत रुपमा हेर्दा एमालेले एक नम्बर प्रदेशमा ५८ स्थानीय तह जितेको छ भने कांग्रेसले ४७ स्थान जितेको छ । गणना भइरहेका अधिकांश स्थानीय तहमा एमालेको अग्रता रहेकाले १ नम्बर प्रदेशमा एमालेको बहुमत आउने सम्भावना छ ।

५ नम्बर प्रदेशमा एमालेले ४० स्थान जितेको छ भने कांग्रेसले ३३ स्थान जितेको छ । गणना भइरहेका ४ ठाउँमा एमालेको अग्रता छ भने कांग्रेसको कुनै पनि स्थानमा अग्रता नरहेकाले ५ नम्बर प्रदेशमा एमालेनै ठूलो दल बन्ने सम्भावना छ ।

७ नम्बर प्रदेशमा कांग्रेसले ३७ र एमालेले ३६ स्थान जितेका छन् । गणना भइरहेका ३ नगरपालिकामा एमालेको अग्रता छ भने एउटामा कांग्रेसको अग्रता रहेको छ । अग्रता लिएका नगरपालिका जितेको खण्डमा एमाले प्रदेश नम्बर ७ मा पनि पहिलो दल बन्न सक्छ ।

Post Comment