एमालेलाई निषेध गरेर बढ्नुपर्छ भन्ने प्रचण्डको प्रस्ताव पछि राजपा र एमालेबीच सम्बन्ध सुधार

एमालेलाई निषेध गरेर बढ्नुपर्छ भन्ने प्रचण्डको प्रस्ताव पछि राजपा र एमालेबीच सम्बन्ध सुधार
जनसरोकार

प्रतिपक्ष दल एमाले र संविधानप्रति असन्तुष्ट राष्ट्रिय जनता पार्टी, नेपालबीच संवाद र छलफल आश्चर्यजनक रूपमा अघि बढेको छ। सत्तारूढ दलबाट एमालेलाई निषेध गरेर अघि बढ्ने प्रस्ताव आएपछि राजपा र एमालेबीच सम्बन्ध सुधार हुन थालेको हो।

गत शुक्रबार बालुवाटारमा बसेको कांग्रेस, माओवादी केन्द्र र राजपाको संयुक्त बैठकमा सत्तारूढ दलबाट संविधान संशोधनमा प्रतिपक्ष एमालेलाई निषेध गर्ने योजनाको रहस्य खोलिदिएपछि दुवै पार्टी अचानक एकाएक नजिक हुन पुगेका हुन्। परिणामस्वरूप धुलिखेलको एक रिसोर्टमा दुवै दलका दोस्रो तहका नेताहरूको आवासीय बैठक आइतबार सम्पन्न भएको छ।

‘संविधान संशोधनमा सहमति खोज्नका लागि एमालेसँग पनि छलफल गर्नुपर्छ भनेर राजपाका तर्फबाट प्रस्ताव आयो तर प्रचण्डजीले त मुखै फोरेर एमालेलाई जोड्नु हुन्न भन्नुभयो’, उक्त दिनको घटनाबारे एक राजपा अध्यक्षले भने, ‘प्रचण्डजीले संशोधनका बारेमा एमालेसँग कुराकानी नै नगरौं, यसमा एमालेलाई इन्गेज पनि नगराऊँ, मित्र शक्तिहरू मात्रै मिलेर संशोधन गराऔं भनेर अचम्म पार्ने प्रस्ताव गर्नुभयो।’ उनका अनुसार संशोधनका लागि एमालेको समेत साथ लिन राजपा तयार भएको तर सत्तारूढ दलहरू स्वयं भने एमालेलाई निषेध गरेर बढ्नुपर्छ भन्नेमा पुगेको देखिएपछि एमालेसँगको संवादलाई अघि बढाइएको हो।

शुक्रबारको उक्त बैठकमा एमालेसँग सहमति खोज्न आवश्यक नभएको तर्क गर्नेमा माओवादी केन्द्रका अध्यक्ष पुष्पमकमल दाहाल अगाडि थिए, त्यसमा प्रधानमन्त्री देउवाले धेरै बोलेनन् तर दाहालको कुरामा सहमत भने जनाएको उपस्थित स्रोतले बतायो। उक्त दिन आफू निर्वाचित भएको एक महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले राजपाका नेतालाई भेटका लागि पहिलोपटक बालुवाटार बोलाएका थिए।

‘सत्तारूढ दल संविधान संशोधन प्रक्रिया पनि अघि नबढाउने, एमालेसँग सहमति खोज्न पनि नलाग्ने कांग्रेस र माओवादीको रणनीतिमा लागेको त्यो दिन प्रस्टैसँग खुल्यो’, सहभागीमध्ये अर्को स्रोतले भन्यो, ‘त्यसपछि एमालेलाई पनि साथमा लिएर जानुपर्छ भनेर राजपाले निर्णय लिएको हो, त्यसैअनुसार संवाद अघि बढाइएको हो।’ तेस्रो चरणको निर्वाचनमा पनि राजपालाई बाहिर राखेर चुनावमा जाने योजनामा कांग्रेस र माओवादी लागिरहेको आंशका राजपाका नेताहरूको छ।

उक्त दिनको बैठकका बारेमा राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले एमालेसँग कुराकानी गर्नुपर्छ भनेर सत्तारूढ दलसँग प्रस्ताव गरिएको स्वीकारेका छन्। ‘संविधान संशोधनको विषयमा एमालेसँग हामी पनि कुरा गछर्ौं, तपाईंहरू पनि कुराकानी र संवाद अघि बढाउनुहोस् भनेका थियौं’, महतोले नागरिकसँग भने, ‘अब उहाँहरूले संविधान संशोधनका विषयमा प्रतिपक्ष दलसँग सहमति खोज्ने प्रयास गर्नुहुनेछ भन्ने विश्वासमा म छु।’ उनका अनुसार राजपाका सबै शीर्ष नेताले एमालेसँग सहमति खोज्नका लागि देउवा र दाहाल दुवैसँग आग्रह गरेका छन्।

तर प्रतिपक्ष दलसँग संविधान संशोधनका बारेमा कुराकानी नगर्ने सत्तारूढको अभिव्यक्तिबारे जिज्ञासा राख्दा महतोले कुनै प्रतिक्रिया दिन मानेनन्। राजपाले एमालेसँग कुराकानी र संवाद अघि बढाउनका लागि दाहाल र देउवासँग आग्रह गरिएको भने खुलाए।

संशोधन प्रस्ताव दर्ता गर्दा राजपासँग सहमति नलिने र सो प्रस्ताव पारित गराउनका लागि एमालेसँग संवाद पनि नगर्ने भएपछि एमाले राजपाका दोस्रो तहका नेताको पहिलो चरणको सामूहिक बैठक धुलिखेलमा सम्पन्न भइसकेको छ।

उक्त बैठकमा एमालेबाट उपमहासचिव घनश्याम भुसाल, सचिव प्रदीप ज्ञवाली, केन्द्रीय सदस्यहरू रवीन्द्र अधिकारी र राजन भट्टराईको उपस्थिति थियो भने राजपाबाट लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनाल, मनीष सुमन, रामनरेश राय यादवको उपस्थिति रहेको थियो। धुलिखेल रिसोर्टमा आवासीय बैठक बसेर समसामयिक राजनीतिका बारेमा छलफलसमेत भएको जनाइएको छ।

‘संविधान संशोधनसहित समसामयिक राजनीतिका बारेमा जमेर कुराकानी भएको छ, उहाँहरूले सत्तारूढ दलले चुनावमा पुनः नलैजाने योजना बनाएको भन्ने गुनासो थियो’, उपस्थित एक एमाले नेताले भने, ‘संविधान संशोधनको हामी विरोधी होइनौं तर हामीसँग सल्लाह नगरीकन सत्तारूढले संशोधनमा लगेको कुरा राख्यौं।’ उनका अनुसार एमाले र राजपा हार्दिकतापूर्वक अघि बढ्नेमा सहमत भएका छन्।

उता, राजपाका एक नेताका अनुसार एमालेको मधेसविरोधी छवि सुधार्नका लागि संशोधनमा सहमति जनाउन आग्रह गरिएको छ। ‘विगत २ वर्षदेखि एमाले र राजपाको बीचमा हार्दिक सम्बन्ध थिएन, धुलिखेल वार्तापछि सम्बन्ध सुधारमा पहिलो खुट्किलो चढिएको छ’, राजपाका एक उपस्थित नेताले नागरिकसँग भने, ‘हिजो (आइतबार) दुवै पक्षबाट खुलेर र जमेर संवाद भएको छ, मुख्य कुरा एक अर्कालाई हेर्ने विषयमा रियलाइज भएको छ।’ उनका अनुसार राजपाले एमाले र एमालेले राजपालाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नेबारेमा दुवै पक्ष सहमत भएका छन्।

धुलिखेल रिसोर्टमा गएर बसेका दुवै दलका ८ जना नेता विहान मात्रै फर्केका थिए। दुवैतर्फका नेताले विगतमा भएका घटनाको समीक्षा मात्रै गरेका थिएनन्, सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रले गरेको व्यवहारका बारेमासमेत समीक्षा भएको छ। ‘तर निष्कर्ष के थियो भने टाढा रहेका दुवै राजनीतिक शक्ति एक ठाउँमा रहने र त्यसका लागि आआफ्नो पार्टीनेतृत्वलाई कन्भिन्स गर्ने भनेर बिहान फर्क्यौं’, राजपाका अर्का नेताले नागरिकसँग भने।

संविधान संशोधनमा एमालेलाई सहभागी नगराउने र उता सत्तारुढ राप्रपाले एमाले नआएसम्म संविधान संशोधनको विषयमा निर्णय नलिने जनाएपछि संविधान संशोधन नै पुनः अन्यौलमा परेको छ। एमाले वा राप्रपामात्रै नआएमा संशोधन पास हुन नसक्ने भएकाले राजपाका नेताले शीर्ष नेतृत्वबीच केही दिनभित्रमा नै भेटघाटको व्यवस्था मिलाउने प्रतिबद्धता एमालेका नेताहरूसँग गरेका छन्।

Post Comment