राप्रपाका बरिष्ठ नेता पशुपति शम्शेर राणाले पार्टी अध्यक्ष कमल थापालाई संसदीय दलको नेताबाट हटाउने अभियान थालेका छन् । पार्टीभित्र एकलौटी निर्णय गरेको भन्दै सार्वजनिक असन्तुष्टी जनाएका राणाले थापालाई हटाउन हस्ताक्षर अभियान सञ्चालन गरेका छन् ।
केन्द्रीय सदस्य मनोनितमा मनोमानी गरेको आरोप लगाउँदै राणाले शुक्रवार विज्ञप्ती जारि गरेका थिए । बिज्ञप्ती जारी गर्नुभन्दा पहिलेदेखि नै राणापक्षले हस्ताक्षर संकलन थालेको स्रोतले बताएको छ । हस्ताक्षर संकलनमा राणा र दीपक बोहरा लागेको थापा पक्षधर नेताहरुले बताएका छन् ।
थापालाई संसदीय दलको नेताबाट हटाएपछि मात्र राप्रपा सरकारमा जाने या नजाने बिषयमा निर्णय लिनुपर्ने राणा पक्षको गोप्य चाल रहेको छ । राणापक्षका चालबाजी बुझेर थापाले शुक्रवार संसदीय दलको बैठक ठाकेका थिए । बैठकमा राणाले आफु निकटका सांसदहरुलाई अनुपस्थित हुन निर्देशन दिएको स्रोतले बताएको छ ।
थापाले संसदीय दलको बैठकमा तीन प्रस्ताव राखेका थिए । पहिलो सरकारमा जाने या नजाने ?, दोस्रो संविधान संशोधनमा राप्रपाको भूमिका के हुने ? र तेस्रो पार्टीको चुनाव चिन्ह गाई या हलो मध्ये कुन राख्ने ?
यी बिषयमा राप्रपाभित्र शुक्रवार छलफल हुन पाएन । राणाले अवरोध पुरयाएपछि बैठक फेरी बस्नेगरी स्थगित भएको छ । राप्रपा स्रोतका अनुसार थापालाई हटाएर बोहरा संसदीय दलको नेता बन्न खोजिरहेका छन् । उनकै सल्लाहमा राणाले थापाबिरुद्ध बिज्ञप्ती जारी गरेको थापा पक्षिय नेताहरुको बुझाई छ ।