नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलो र दोस्रो चरणको चुनावमा आफ्नो पार्टी हार्नुको कारण खुलाएका छन् ।
सोमबारदेखि पेरिसडाँडामा शुरु भएको पार्टी केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले सत्तारुढ नेपाली कांग्रेससँग सहकार्य गर्दा चुनावमा अपेक्षित परिणाम नआएको बताएका हुन् । ‘हामी आफ्नै तरिकाले चुनाव लड्नुपर्थ्र्यो,’ बैठकमा उनले भने– ‘ काँग्रेससँग मिलेर चुनाव लड्दा यस्तो अवस्था आयो । हाम्रो तरिकाले चुनाव लड्न नसक्दा यस्तो भयो ।’ यद्यपी उनले हारका लागि पार्टी नै जिम्मेवार भएको स्वीकार गरे ।
बैठकमा सहभागी एक नेताका अनुसार प्रचण्डले आफूहरु जनताले खोजेजस्तो माओवादी हुन नसकिएको भन्दै आत्मआलोचना समेत गरेका थिए । ‘हामी जनचाहना अनुसार अगाडि बढ्न सकनौँ, जनताले यस्तो माओवादी खोजेको होइन,’ बैठकमा उनले भने– ‘पराजयको ठूलो कारण यहीँ हो ।’
अध्यक्ष प्रचण्डले पार्टीभित्रको गुटलाई पनि हारको कारण देखाए । ‘आजबाट पार्टीभित्र रहेका सबै गुट विघटन गरौँ । होइन भने घोषित रुपमा चलाऔँ,’ आक्रोशित हुँदै उनले भने । केन्द्रीय कमिटी पनि ठिक नभएका कारण माओवादी हारेको प्रचण्डको ठहर छ ।
देशमा परिवर्तनको नेतृत्व गर्ने काम आफूहरुले गरेपनि त्यसलाई संस्थागत गर्न नसक्दा पनि चुनावमा असर देखिएको उनको बुझाई छ । ‘यो देशमा परिवर्तन हामीले गर्ने काम भयो । तर, पार्टीले गरेको काम संस्थागत गर्न सकिएन । चुनावमा यसको असर देखियो,’ उनले बैठकमा भने ।
पहिलो र दोस्रो चरणको स्थानीय तहको चुनावमा २६७ सीटसहित नेकपा एमाले पहिलो दल बनेको छ । २२६ सीटसहित कांग्रेस दोस्रो र ८४ सीटसहित माओवादी केन्द्र तेस्रो दल बनेको छ । डेढ सय सीट जित्ने अपेक्षासहित स्थानीय चुनावमा होमिएको माओवादी केन्द्रलाई अनपेक्षित नजिता प्राप्त भएपछि हारको समिक्षामा अध्यक्ष प्रचण्ड जुटेका हुन् ।