अख्तियार दुरुपयोग अनुसन्धान आयोगले व्यापारी अजय सुमार्गीको अकुत सम्पत्तिमाथि छानबिन सुरु गर्ने भएको छ ।
यसबारेमा आयुक्तहरुको आज गोप्य बैठक बसेको छ । स्रोतका अनुसार अख्तियार आयुक्तहरुको बैठकले पहिलो ‘हिट लिष्ट’मा सुमार्गीलाई राखेको छ ।
सुमार्गीमाथि राजश्व छलेको, अकुत सम्पती देखिउको र उक्त सम्पत्तिको कुनै स्रोत नखुलेको आयोगको ठम्याई छ । त्यस्तै सुमार्गीपछि अख्तियारले अब ठूला माछामाथि पनि आँखा लगाउने भएको छ । सुमार्गीपछि पनि अन्य उद्योगपतिहरुदेखि नेताहरुसम्म अख्तियारको आँखामा मार्क भैसकेकाले उनीहरुसमेत फन्दामा तानिने स्रोतको दाबी छ ।
त्यस्तै सुमार्गीले नेपाल भित्र्याउन खोजेको तीन अर्ब रुपैयाँ चारवर्षदेखि बैंकमा थन्किएको छ । नेपाल राष्ट्र बैंकले त्यसको स्रोतबारे प्रश्न उठाएको र सुमार्गीले खुलाउन नसकेकाले रकम निकाल्न नसकेका हुन् । सुमार्गीले ब्रिटिस भर्जिन आइल्यान्ड र साइप्रसबाट उक्त रकम भित्र्याउन खोजेका थिए । दुवै मुलुक लगानी बाहिर लान र ल्याउन सहज ‘ट्याक्स हेभन’का रूपमा परिचित छन् ।
कर छलीमार्फत गैरकानूनी रूपमा आर्जन गरेको रकम उनले भित्र्याउन खोजेको शंका राष्ट्र बैंकको छ ।
यता अख्तियारले आयल निगमको जग्गा खरिदमा करोडौं रुपैयाँ अनियमितता भएको भन्दै त्यसमापनि छानबिन गर्ने भएको छ। त्यस्तै बुढीगण्डकी परियोजनाबारेपनि अख्तियारले विशेष छानबिन अघि बढाउने भएको छ