नेपाली कांग्रेसका युवा नेता एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले भारतलाई बाँध भत्काउ भन्ने हिम्मत गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख दलका शीर्ष नेतालाई आह्वान गर्नुभएको छ ।
कोशीसहितका भारतद्वारा सीमा क्षेत्रमा निर्मित बाँधले तराई डुबानमा परिरहेका बेला प्रमुख दलका नेता भारतीय बाँधबारे बोल्न नसकिरहेका बेला विहिबार बाग्लुङमा आयोजित कार्यक्रमार्फत नेता थापाले तराई डुबानको समस्या हल गर्न सबै दल र संसद एक ठाउँमा उभिनुपर्ने भन्दै एक ठाउँमा उभिएर भारतलाई बाँध भत्काउ भन्ने हिम्मत गर्नुपर्ने बताउनुभयो ।
‘के कति कारणले तराई डुबानमा परेको छ भन्नेबारे सबै गम्भीर हुन जरुरी छ,’ उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यमी विकास समितिले आयोजना गरेको दोस्रो तीज महोत्सवको बिहीबार उद्घाटन गर्दै नेता थापाले भन्नुभयो– ‘भारतले बनाएको बाँधले नेपाल डुबेको हो भन्ने निश्कर्ष हो भने सबै एक ठाउँमा उभिएर भारतलाई बाँध भत्काउ भन्ने हिम्मत गर्नुपर्छ । यसका लागि राष्ट्रिय एकता आवश्यक छ ।’
राष्ट्रिय समस्याको हल गर्न राष्ट्रिय एकता जरुरी रहेको नेता थापाको भनाई छ ।