जापान र अमेरिकाले उत्तर कोरियाले पुनः बलेस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि त्यसबारे छलफल गर्न सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाउन संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन्।
उत्तर कोरियाले मंगलवार बिहानै परीक्षण गरेको क्षेप्यास्त्र पहिलो पटक जापानी आकाश भएर समुद्रमा खसेको थियो।
सुरक्षा परिषद्को बैठक मंगलवार अबेर बस्ने बताइएको छ।
जापान र अमेरिकाका साथै दक्षिण कोरिया, अष्ट्रेलिया र ब्रिटेनले पछिल्लो क्षेप्यास्त्र परीक्षणको निन्दा गरेका छन्।
जापानको उत्तरी हकाइदो टापुको करिब ३,००० किलोमिटरसम्म उत्तर कोरियाली क्षेप्यास्त्र पुगेको थियो।
उत्तर कोरियाली क्षेप्यास्त्र जापानी आकाशमा पुगेपछि त्यहाँ सजग गराउने साइरन बजेको थियो र मानिसहरुलाई भुईँतला वा पक्की घरमा लुक्न आग्रह गरिएको थियो।