२०७४ भदौ १३ गते, पोखरा, वरिष्ठ कृषि वैज्ञानिक डा भुवनरत्न स्थापितको २०७४ भदौ १२ मा राति ११ बजे अमेरिकाको जेम्स ग्राहम ब्राउन क्यान्सर अस्पतालमा उपचारको क्रममा निधन भएको छ । उहाँ विगत दुर्इ वर्षदेखि जिब्रोको क्यान्सरको उपचारत हुनुहुन्थ्यो । उहाँको एक श्रीमती, एक छोरा, एक बुहारी र दुर्इ छोरी छन्स जो हाल अमेरिकामा नै छन् । उहाँको अन्त्यष्टी अमेरिकामा नै गरिने पारीवारिक स्रोतले बताएको छ ।
वि सं २०११ बैशाख ८ मा पोखरामा जन्मनु भएका डा स्थापितको नाममा ‘रत्न’ रहे जस्तै आफ्नो कार्यगत र क्षेत्रगत योगदानका हिसावले समेत उहाँ एक ‘रत्न’ नै हुनुहुन्थ्यो । कृषि बिज्ञान क्षेत्रमा उल्लेखनिय योगदान गरे बापत वि सं २०५९ मा पोखरा नगरपालिकाद्वारा ‘नवरत्न सम्मान’ ले विभूषित हुनुभएका उहाँ कृषि जैविक विविधता, अनुसन्धान तथा विकासका क्षेत्रमा अन्तर्राष्ट्रिय रूपमा समेत ख्यातीप्राप्त व्यक्तित्व हुनुहुन्थ्यो । विज्ञानमा मात्र नभै साहित्यिक क्षेत्रमा समेत उहाँले कलम चलाउनु भएको छ । साहित्य क्षेत्रमा ‘अविरल स्थापित’ का नामले चिनिएका भुवनका केही साहित्यिक कृति समेत प्रकाशित छन् । उहाँको ‘अविरलका कथा’ हरू चर्चित साहित्यीक कृतिमा पर्दछ ।
पोखरामा स्थापना भएको राष्ट्रिय स्तरको गैरसरकारी संस्था जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल ली–बर्ड को संस्थापक सदस्य र वर्तमान कार्यकारिणी बोर्डका सदस्य समेत रहनु भएका स्थापितले ली–बर्डको स्थापना कालदेखि नै संस्थाको विकास र नेपालको जैविक विविधताको अनुसन्धान, संरक्षण र प्रवर्धनमा उल्लेखनीय भूमिका खेल्नु भएको छ । विशेष गरी यथास्थानमा जैविक विविधताको संरक्षण, सहभागितामूलक बाली प्रजनन, समुदायमा आधारित जैविक विविधता व्यवस्थापन, सामुदायिक बीउ बैंक, घरबगैंचा आदिका क्षेत्रमा उहाँको योगदान अतुलनिय छ । यिनै विधाहरूमार्फत् डा स्थापित स्वदेशमा मात्र नभै विदेशमा समेत चर्चित हुनुहुन्थ्यो । कृषि बिज्ञानका क्षेत्रमा उहाँका उल्लेखनीय प्रकाशनहरू प्रकाशित छन् ।
उहाँ सन् १९९७ देखि बायोभर्सिटी इन्टरनेशनल नामक एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा वरिष्ठ वैज्ञानिक ९कन्ट्री रिप्रजेन्टेटिभ० को रुपमा कार्यरत हुनुहुन्थ्यो । सन् १९९६ देखि १९९७ सम्म नेपाल कृषि अनुसन्धान परिषदमा वरिष्ट धान प्रजनकको रुपमा कार्य गर्नुभयो । पोखराको अमरसिंह माध्यामिक विद्यालयमा १९७६ मा कृषि बिषय अध्यापन समेत गर्नु भएका स्थापितले सन् १९७७ देखि १९९५ सम्म लुम्ले कृषि अनुसन्धान केन्द्रमा विभिन्न ओहदामा रहि कार्य गर्नुभएको थियो । उहाँले हरियाणा विश्वविद्यालय, भारतबाट स्नातक, रिडीङ विश्वविद्यालय, बेलायतबाट स्नातकोत्तर र दर्शनाचार्य र वेल्स विश्वविद्यालय वेलायतबाट कृषिमा विद्यावारिधी प्राप्त गर्नुभएको थियो ।
डा भुवन स्थापितको निधनले उहाँलार्इ प्रेरणाको स्रोत मानि कृषि जैविक विविधता तथा प्राकृतिक स्रोत व्यवस्थापनका क्षेत्रमा अध्ययनरत, अनुसन्धानरत र कार्यरत व्यक्ति, आफन्तजन र शुभचिन्तकहरूले सामाजिक सञ्जालहरू मार्फत् उहाँमा श्रद्धाञ्जली व्यक्त गरेका छन् । ली–बर्डले पनि आज आफ्नो पोखरामा अवस्थित प्रधान कार्यलयमा डा स्थापितलार्इ श्रद्धान्जली समारोहको आयोजना गरेको थियो । समारोहमा वहाँका आफन्तजन, संस्थाका सदस्य तथा कर्मचारी एवं शुभचिन्तकहरूको बाक्लो उपस्थिती रहेको थियो । उहाँको निवास, नदीपुर र ली–बर्डको कार्यालयमा शोक पुस्तिका राखिएको छ । सो शोकपुस्तिका भदौ १६ गतेसम्म खुल्ला राखिने छ ।