एनआरएन अमेरिका निर्वाचन सकियो, ६४ प्रतिशत मत खस्यो

एनआरएन अमेरिका निर्वाचन सकियो, ६४ प्रतिशत मत खस्यो
जनसरोकार
एनआरएन अमेरिकाको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा ९ हजार २ सय ८२ मत खसेको छ । यो कुल मतको ६४ प्रतिशत हो । मत कम खस्नुलाई केहीले यसलाई नेपाली समुदायमा एनआरएन लोकप्रिय हुन नसकेको बरु वितृष्णा बढेको रूपमा व्याख्या गरेका छन् ।
एनआरएन अमेरिकामा १४ हजार ५ सय २० जना मतदाता थिए । मतदानको समय साताको मध्ये र बिदा नभएको समयमा पारेकाले केही असर परेको गुनासो पनि छ ।
मङ्गलवार बिहान पूर्वको समय अनुसार ८ बजेबाट सुरु भएको अनलाइन मतदान प्रकृया बुधवार राती सकिएको छ। निर्वाचन आयुक्त वन्दिता शर्मा दाहालले निर्वाचन सकिनु भन्दा एक घण्टा अघि समाजिक सञ्जाल मार्फत निर्वाचनको समय थप नहुने जानकारी दिईकी थिइन।
बिहीबार बिहान नतिजा तयार गरिने भएको छ। तर, यसलाई शनिवार मात्र सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ । यसलाई के कसरी सार्वजनिक गर्ने यसबारेमा कुनै औपचारिक सूचना दिइएको छैन। निर्वाचन समितिले शनिवार कार्यक्रम राखेका छ। उक्त कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गरिएको छ ।
यो निर्वाचनबाट एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार क्षेत्रीय अनुसार उपाध्यक्ष, महासचिव लगायतका पदाधिकारी चयन हुने छन्।
मतदाता सूचीमा आफ्नो नाम भए पनि इमेल नआएको गुनासो गर्नेहरु थिए । तर, ढिलो यस्तो गुनासो आएकाले कतिको सुनाई हुन नसकेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका एक पदाधिकारीले एनआरएन अमेरिकाको निर्वाचन प्रकृयालाई व्यापाक सुधारको खाँचो रहेको पनि महसुस गरेको बताए । अन्य क्षेत्रबाट पनि निर्वाचन प्रकृयामा सुधार गर्नु पर्ने माग उठेको छ ।
कुन राज्यबाट कति मत खस्यो यो भने अहिले सम्म तयार नभएको दाहालले हिमालयखवरलाई जानकारी दिइन । हामी यो तयार गर्छौ तर, भोलि मात्र सम्भव होला दाहालले भनिन् । टेक्सस, क्यार्फिनिया लगायत केही स्टेट च्याप्टरमा पनि नेतृत्वका लागि प्रतिस्पर्धा भएको थियो ।

Post Comment