आधिकारीक घोषणा नहुदैं एनआरएन नतिजा लिक , पौडेल पुन: निर्वाचित

आधिकारीक घोषणा नहुदैं एनआरएन  नतिजा लिक , पौडेल पुन: निर्वाचित
जनसरोकार
गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको निर्वाचन नतिजा औपचारिक रुपमा सार्वजनिक हुन बाँकी छँदै परिणाम बाहिर आएको छ ।
चुनाव गर्ने सफ्टवयर कम्पनी इलेक्सन इबड्डी डटकमबाट लिक भएको सूचना अनुसार सन् २०१७ / २०१९ कार्यकालका लागि पुनः डा. केशव पौडेल निर्वाचित भएका छन् । तर यसको औपचारिक घोषणा भने निर्वाचन आयोगले गरिसकेको छैन ।
लिक भएको मत परिणाम अनुसार डा. पौडेलले ४२२९ मत पाएका छन् । उनको निकटतम प्रतिद्वन्दी रविना थापाले ३०८५ मत ल्याएकी छन् ।
अर्का उम्मेदवार राम सी पोखरेलले ९६४ मत पाएका छन् भने कृष्ण पोखरेलले ७८३ मत पाएका छन् ।
डा. पौडेललाई जनसम्पर्क समिति अमेरिकाको एउटा समूहको समर्थन थियो । उता निकटतम प्रतिद्वन्दी हुन सफल रबिना थापालाई जनसम्पर्ककै अर्को खेमा र प्रवासी नेपाली मञ्चको समर्थन रहेको थियो । कृष्ण पोखरेललाई जनसम्पर्क समितिको अध्यक्ष लगायतको अर्को खेमाको साथ थियो भने ड्यालसका राम सी पोखरेल कसैको पनि समर्थन बिना चुनावी प्रतिस्पर्धामा थिए ।
बुधबार राति १२ बजेसम्म अनलाइनबाट मतदान गर्न सकिने व्यबस्था निर्वाचन आयोगले गरेको थियो ।
चुहिएको चुनावी परिणाम अनुसार वरिष्ठ उपाध्यक्षमा टेक्ससका सुनिल साह निर्वाचित भएका छन् । त्यस्तै चार उपाध्यक्षहरुमा रामकुमार सुवेदी, राधा पौडेल, जेदु पोखरेल र उमा थापा निर्वाचित भएका छन् । महासचिवमा बीआर लामा, सचिवमा होमनाथ गौतम, कोषाध्यक्षमा प्रकाश अर्याल र सहकोषाध्यक्षमा पवन योन्जन विजयी भएका छन् । महिला संयोजकमा इन्दिरा त्रिपाठी निर्वाचित भएकी छिन् ।
कार्य समिति सदस्यहरूमा डा.अर्जुन बन्जाडे, कृष्ण लामिछाने, तृष्णा शर्मा, सञ्जय थापा, दिव्या केसी ओली, गोपेन्द्रराज भट्टराई, बिन्दु सापकोटा निरौला, अमृत कट्टेल, प्रीति सगर खत्री, आङ शेर्पा र विष्णु बहादुर शाहले विजय प्राप्त गरेका छन्।
एनआरएनको अन्तर्राष्ट्रिय समन्वय समितिका लागि आवश्यक ८ सदस्यका लागि भएको मतदानमा गोमा सेन, धर्म भट्टराई, बिष्णुमान प्रधान, प्रकाश सापकोटा, बन्दना कोइराला, बेदराज बस्नेत, डिल्लीराम भट्टराई र बलराम थापाले विजयी भएका छन् ।
टेक्सस च्याप्टरको अध्यक्षमा भानुभक्त खरेल निर्वाचित भएका छन् । क्यालिफोर्निया च्याप्टरको अध्यक्षमा रामबाबु पाण्डे विजयी भएका छन् । उनले निकटम प्रतिद्वन्दीभन्दा एक मतमात्र बढी ल्याएका छन् ।
हिमालय खबर निर्वाचत अयोगको अधिकारिक घोषणाको पर्खाइमा रहेको छ ।

Post Comment