इलामको इलाम नगरपालिका ४ का प्रकाश अधिकारी इडिभी चिठ्ठा परेको दिनको खुसी शब्दमा व्यक्त गर्न सक्नुहुन्न ।
इडिभी परेको थाहा पाएपछि खुसीले उफ्रिनुभएको थियो प्रकाश । ‘सपना’को देश अमेरिका जान पाउने भएपछि उहाँलाई आफ्नो सपना पूरा भए झैं लाग्यो । कम्प्युटर सिकाउने काम गरेर प्रकाशको बिहान बेलुका चुलो त बलेको थियो ।
तर त्यो जागिरबाट न एक पैसा बचेको थियो न त पढ्दा लागेको ऋण पनि तिर्न सकिएको थियो । त्यसैले प्रकाशले वर्षै पिच्छे खुल्ने इडिभी चिठ्ठा भर्नुहुन्थ्यो ।
अमेरिका पुगेपछि त बोटैमा पैसा टिप्न पाइन्छ, जीवन त त्यसै सुखी र सम्पन्न हुन्छ झैं लाग्थ्यो प्रकाशलाई । हुनपनि अमेरिका जानेको समाजमा मानसम्मान पनि उस्तै छ । प्रकाशको हकमा पनि यस्तै हुने थियो । यदि उहाँले अमेरिका गएर कमाएर जमाएको भए । तर त्यस्तो भएन । हट्टाकट्टा अमेरिका पुगेका प्रकाश त्यहाँ पुगेपछि रोगी हुनुभयो । उहाँले सोचेजस्तो भएन अमेरिका ।
इडिभी परेर अमेरिका जाने भएपछि उहाँले सात लाख रुपैयाँ ऋण काढेर सबै प्रक्रिया पुर्याउनु भयो । ऋण काढ्ने बेलामा उहाँलाई तिर्न सक्दिनकि भन्ने कत्ति पनि लागेको थिएन । लागोस पनि कसरी । इडिभी नै परेपछि त अमेरिकामै बस्ने सोच थियो प्रकाशको ।
‘पढ्दा लागेको ऋण तिरौंला, दुईचार पैसा बचत गरौंला भनेर गएँ । तर अमेरिकाले मलाई पैसाको सट्टा अनौठो रोग दियो,’ प्रकाशले भन्नुभयो । सपनाको भारी बोकेर २०७२ सालमा अमेरिका उडेका प्रकाश पहिचान नै गर्न नसकिने रोग लिएर फर्कनुभयो ।
अमेरिकाको बोस्टनमा १५ दिन काम गर्नुभयो प्रकाशले । तलव एक रुपैयाँ पनि पाउनुभएन । १५ दिनकै कामले उहाँलाई गतिलो झापड उपहार दियो । प्रकाशलाई लागेको रोग के हो भनेर डाक्टरले समेत पत्ता लगाएका छैनन ।
निकै बिरामी भएपछि प्रकाश उपचारका लागि घर फर्कनुभयो । उपचार गराएर उहाँ १० महिना पछि फेरि अमेरिका उड्नुभयो । उहाँले अमेरिका जानका लागि फेरि तीनलाख रुपैयाँ ऋण काट्नुभयो । प्रकाश निको पनि हुनुभएको थियो ।
दोस्रो पटक उहाँले कोलोराडोमा बसेर काम सुरु गर्नुभयो । झण्डै साढे दुई महिना काम गर्नुभयो । त्यसपछि फेरि पहिले कै बिमारले सतायो उहाँलाई । काम गर्न सक्नुभएन । सबैले नेपाल नै फर्कन सुझाए पछि उहाँ फेरि नेपाल फर्कनुभयो ।
अढाई महिनामा एक लाख ४८ हजार रुपैयाँ कमाउनुभयो । उहाँलाई नेपाल फर्कने बेला साथीहरुले सहयोग गर्ने बताएका थिए । तर नेपाल फर्किएपछि सबैको व्यवहार परिवर्तन भएकोमा उहाँ चित्त दुखाउनुहुन्छ ।
‘नेपालमा छँदा सोच्ने अमेरिका र साँच्चैको अमेरिकामा र आकाश पातालको फरक हुँदोरहेछ । रात दिन रोएर बिताएँ । त्यस्तो होला भनेर सपनामा पनि सोचेको थिइन,’ प्रकाश भक्कानिनु भयो । ‘अमेरिका पुगेपछि के के गर्छु जस्तो लाग्थ्यो, तर त्यहा पुगेपछि भिड मै हराएँ,’ प्रकाशले भन्नुभयो । अमेरिका जाँदा काडेको सहित उहाँको काँधमा १५ लाख रुपैयाँ ऋण छ । बिमारले दिनहुँ गाँजिरहेको छ ।
प्रकाशकी आमालाई छोरो सरकारी जागिरे भएको हेर्न मन थियो । तर प्रकाशको अमेरिका जाने रहरको अघि उहाँको केही लागेन । अहिले छोराले इच्छाएको कामले स्वस्थ्य छोरालाई बिमार बनाएपछि आमा देऊमाया अधिकारीलाई चिन्ता थपिएको छ । ‘अलिअलि काम ग¥यो कि बिरामी भैहाल्छ, के गरेर खाला यसले मलाई साह्रै चिन्ता छ यसको,’ देऊमायाले भन्नुभयो ।
प्रकाशलाई निको भएपछि कमाएर ऋण तिरौंला भन्ने आत्माविश्वास अझै मरेको छैन । उहाँले काठमाडौं र इलामका अस्पताल धाइरहनु भएको छ । तर उहाँको रोग अलिकति पनि कम भएको छैन । साथमा पैसा नहुँदा भनेजस्तो अस्पताल पनि जान सक्नुभएको छैन । १५ लाख रुपैयाँको ब्याज प्रकाशको बुवाले तिरिरहनु भएको छ ।