‘सूचनाको पहुँच र पत्रकार सुरक्षा दिगो विकासको केन्द्रीय तत्व’

‘सूचनाको पहुँच र पत्रकार सुरक्षा दिगो विकासको केन्द्रीय तत्व’
जनसरोकार


काठमाडौँ – सूचना र स्वतन्त्र प्रेस सुनिश्चित नभएसम्म दिगो विकास लक्ष्य प्राप्त गर्न चुनौतीपूर्ण हुने आज एक कार्यक्रममा वक्ताहरुले औँल्याएका छन् ।

पत्रकार सुरक्षा र सूचनाको हकमा कार्यरत नागरिक संस्था फ्रिडम फोरमले आज यहाँ आयोजना गरेको ‘दिगो १६.१० लक्ष्य प्राप्तिका लागि सहकार्य’ विषयको अन्तक्र्रियामा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सञ्चार माध्यम र सञ्चारकर्मीको भौतिक र व्यावसायिक सुरक्षा सुनिश्चित नभएसम्म अन्य कुनै पनि विकास लक्ष्य अधुरो रहने बताए ।

उनले भने, ‘अहिलेसम्म कुनै न कुनै रुपमा हरेक विकास लक्ष्यका बूँदाहरूको चर्चा भएपनि बूँदा १६.१० को १ र २ मा उल्लिखित जनतालाई पूर्णरुपमा सूचनाको हकको प्रत्याभूति र पत्रकारलाई पूर्ण सुरक्षा प्रत्याभूतिको विषयमा अपेक्षाकृत काम हुन सकेको छैन ।’ सातै प्रदेशमा सूचना आयोग बनाएर सूचनाको हक र स्वतन्त्र प्रेसबारे काम गर्न सकेमा लक्ष्य प्राप्त गर्न सकिने प्रमुख आयुक्त बाँस्कोटाको भनाइ थियो ।

सूचना तथा सञ्चार मन्त्रालयका उपसचिव रुद्रा शर्माले अझैपनि दिगो विकासमा उल्लिखित सूचनाको पहुँच र पत्रकार सुरक्षाका बूँदामा सम्बन्धित निकायले जिम्मेवारी लिन नसकेकाले लक्ष्य प्राप्तिमा चुनौती देखिएको बताए ।

सूचना विभागका निर्देशक सुमन बज्राचार्यले आयोगमा पत्रकारले सुरक्षाभन्दा तलब नपाएको, विनाकारण जागिरबाट निकालिएको उजुरी बढी आउने गरेको बताए । ‘सूचना नपाएको, पत्रकारबाटै पीडित र अनलाइनबाट पीडित भएकाहरूको उजुरी पनि आउँछन्’ – उनले भने ।

नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेलले राजनीतिक अस्थिरताका कारण प्रेस स्वतन्त्रता पनि सुनिश्चित हुन नसकेको उल्लेख गरे ।

संविधानमा प्रेस स्वतन्त्रताको सुनिश्चितता गरिएको भएपनि व्यावहारिकरुपमा त्यस्तो हुन नसकेकाले पहिले सञ्चारमाध्यमलाई बलियो बनाउनुपर्ने उनको भनाई थियो ।

फ्रिडम फोरमका कार्यकारी प्रमुख तारानाथ दाहालले हरेक सूचना अधिकृतलाई कसरी सूचना दिने भन्ने जानकारीको अभाव भएकाले उनीहरूलाई यस विषयमा जानकारी दिनुपर्ने बताए । सूचना अधिकृत नियुक्त गर्दा सोही विषय जानकारी भएको र बोल्न सक्नेलाई नियुक्त गर्दा सही सत्यतथ्य सूचना बाहिर आउने उनको सुझाव थियो ।

फ्रिडम फोरमका अध्यक्ष हरिविनोद अधिकारी, पत्रकार हस्त गुरुङ, मिडिया एक्सनका लक्ष्मणदत्त पन्तलगायतले दिगो विकास लक्ष्यमा उल्लिखित लक्ष्य प्राप्तिको काम हुन नसकेकाले स्थिति अझै जटिल बन्दै गएको विचार राखेका थिए ।

लक्ष्य प्राप्तिका लागि कुनै मार्गचित्र नबनाइएको, सञ्चार राजनीतिको छायामा परेको, संस्थाको संख्या बढेपनि यसको गुणस्तरीयता नबढेको वक्ताहरूको भनाइ थियो ।

कार्यक्रममा पत्रकार कृष्णप्रसाद सापकोटाले ‘दिगो विकासको लक्ष्य १६.१० प्राप्तिमा सहकार्य’ विषयमा कार्यपत्र प्रस्तुत गरेको थियो ।

Post Comment