पोखरा, जेठ । गुहार ! गुहार ! लौन घरमा आगो लाग्यो बचाउ ! बचाउ !” विहान लगभग ११.०० बजेतिर पोखराको फुलवारीमा साना साना छाप्रामा आगो लागिरहेको थियो, मानिसहरूको चित्कार सुनिन्थ्यो । स्याउलाले बारेर टिनले छाएका विभिन्न छाप्रामा एक पछि अर्को गर्दै आगो लागिरहँदा मानिसहरू घरका समान झिक्न र आफन्तलाई जोगाउन लागिपरेका देखिन्थे । नेपाल आर्मी, नेपाल ससस्त्र, नेपाल प्रहरी, नेपाल रेडक्रस, स्थानीय जनता, जन निर्वाचित वडा अध्यक्ष, सदस्य तथा स्वयम सिडियो साप आगो नियन्त्रणको लागी लागि परेको देखिन्थ्यो ।
आगलागी पछिको उद्धार तथा राहत पश्चात अन्य विपद्का उद्धारको तयारी स्वरुप त्यसैको केही समय पछि भलाम जाने सडक मार्गमा पहिरोले घर पुरिएर एवम् भत्केर समस्यामा परेका सर्वसाधारणको उद्धार गरियो भने काली खोलामा बाढीले बगाएका सर्वसाधारणलाई पनि उद्धार गरियो । त्यस्तै आजै पोखराको डेभिडफल्समा एक सय ८० फिट र एक सय १५ फिट खोचमा परेका व्यक्तिको उद्धारको नमूना अभ्यास पनि गरियो भने फेवातालमा डुबेका मानिसको पनि नमूना उद्धार अभ्यास गरियो ।
वास्तविक जस्तै देखिने प्रत्येक नमूना उद्धार अभ्यास कास्की जिल्लामा विपत् परेका अवस्थामा के कसरी गर्न सकिन्छ भनेर गरिएको प्रजिअ अधिकारी बताउनुहुन्छ ।
“आजको अभ्यासमा तीनवटै सुरक्षा निकाय मध्ये नेपाल प्रहरी र सशस्त्र प्रहरीका ४०÷४० जना, नेपाली सेनाका ७० जना र अन्य मुचुल्का लगायतका काम गर्ने गरी एक सय ६५ जना प्रत्यक्ष खटाइएको थियो,” उहाँले भन्नुभयो, “प्रशासनिक निकायका कर्मचारी, चिकित्सक, रेडक्रसका प्रतिनिधि एवम् सञ्चारकर्मी लगायतको उपस्थितिमा यो पूर्वअभ्यास गरिएको हो ।”
विभिन्न विपद् उद्धारका पूर्व अभ्यास बेला बेलामा गरिने गरिए पनि एकै दिन पाँच वटा विपद् उद्धार अभ्यास भने नेपालमा नै पहिलोपटक भएको हुन सक्ने प्रजिअ अधिकारीको भनाइ छ । कास्की र आसपासका क्षेत्र विशेषतः आगलागी, बाढी पहिरोका साथै फेवाताल र सेतीका खोचमा मानिसहरू खस्ने गरेका समस्या भएका कारण पाँचवटै पूर्व अभ्यास गरिएको हो । यस किसिमको पूर्व अभ्यासले विपद् आइपरेका अवस्थामा गरिनुपर्ने उद्धार तथा राहत र सर्वसाधारणमा पनि सचेतना अभिबृद्धि गर्ने विश्वास लिइएको छ ।