सरकारको राम्रो काम : अब मलेसिया जान पैसा तिर्न नपर्ने

सरकारको राम्रो काम : अब मलेसिया जान पैसा तिर्न नपर्ने
जनसरोकार

नेपाल सरकार र मलेसियाली सरकारबीच नेपाली कामदार लैजाने विषयमा समझदारी भएको छ ।

मलेसियाका मानव संशाधनमन्त्री एम कुलेसागरन र नेपालका श्रम मन्त्री गोकर्ण विष्टले सोमबार समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । यो सम्झौतासँगै अब नेपाली श्रमिक कुनै पनि शुल्क नतिरी मलेसिया जान पाउनेछन् ।

भिसा प्रक्रियामा समेत कुनै पनि शुल्क लाग्ने छैन भने अन्य प्रक्रियाका लागि लाग्ने सबै खर्च रोजगारदाता कम्पनीले नै व्यहोर्ने गरी सम्झौता भएको हो । सम्झौता अनुसार अब श्रमिकले सबै महिनाको ७ गतेभित्र बैंक खातामा पारिश्रमिक पाउनेछन् ।

कामदारका परिवारका कुनै पनि सदस्यको मृत्यु भएका श्रमिकले १५ दिन बिदा पाउनेसमेत सम्झौतामा उल्लेख गरिएको छ ।

रोजगारदाता मुलुकलाई कामदारप्रति जवाफदेही बनाउँदै नेपाली कामदारले अधिकतम लाभ प्राप्त गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको जनाइएको छ ।

त्यस्तै नेपाली कामदारको सामाजिक सुरक्षाका विविध पाटोलाई पनि सम्झौताले सम्बोधन गरेको जनाइएको छ ।

समझदारीपश्चात् नेपाली कामदारको २४ घन्टे बीमा, रोजगारदाता मुलुकमा विरामी हुँदा उपचारमा लाग्ने खर्च, बिदालगायत सेवा सुविधा सुनिश्चित हुने विश्वास लिइएको छ ।

नयाँ समझदारीअनुसार कामदारको करार अवधि दुई वर्षको हुनेछ । यसअघि तीन वर्षको करार अवधिमा नेपाली कामदार रोजगारीका लागि मलेसिया जाने गरेका थिए । मलेसियाका लागि कामदार आपूर्ति गर्दै आएका ‘म्यानपावर कम्पनी’ले रोजगारदाता मुलुकका सम्बन्धित कम्पनीबाटै सेवा शुल्क पाउनेछन् ।

Post Comment