रोजिताले उपचार पाइनन्, १२ वर्षदेखि ओछ्यानमा सुत्न बाध्य

रोजिताले उपचार पाइनन्, १२ वर्षदेखि ओछ्यानमा सुत्न बाध्य
जनसरोकार

शरीरभन्दा टाउको अस्वाभाविक रूपमा ठूलो भएपछि सिरहाको उत्तरवर्तीकी एक बालिकाले उपचार पाउन सकेकी छैनन् ।

धनगढीमाई नगरपालिका १४ बिहीबारेकी १२ वर्षीया एक बालिका उपचार अभावमा जन्मदेखि नै ओछ्यान सुत्न बाध्य हुन् ।

टाउको उठाउँन नसक्दा निर्मला सिंह राजपुतकी माहिली छोरी रोजिता ओछयानमै सुतिरहन्छिन । टाउको अस्वाभाविक भए पनि राजपुत परिवारले आर्थिक अभावमा छोरीको उपचार गराउन सकेका छैनन् । उपचार हुन नसक्दा रोजितालाई उनका आमा निर्मला रातदिन हेरचाहमा तल्लिन हुनुपरेको छ ।

‘जेठी छोरी सुनिता र कान्छी रचना दगुरी हिँडदा उनी पनि उठेर दगुर्न र खेल्न खोज्छिन’, रोजिताकी आमा निर्मलाले सुनाइन्, ‘टाउको उठाउन नसक्दा उनी रूएर बस्छिन ।’

रोजिताले दिसापिसाव ओछ्यानमै सुतेको अवस्थामा गर्ने भएकाले उनको स्याहारसुसारमै दिन बित्ने गरेको उनले सुनाएन । सुकुम्बासी परिवारका उनीहरू बिहीबारेमा एउटा सानो काठको घरमा बस्छन । घर भएको जग्गा पनि ऐलानी हो । निर्मलाका अनुसार जन्मदा टाउको ठूलो नभए पनि जन्मेको दुई महिनापछि अस्वाभाविक रूपमा टाउको बढेको हो ।

निर्मलाका पति सञ्जयले दिल्लीमा मजदुरी गरेर पठाएको रकमले उनीहरूको गुजारा जसोतसो चलेको छ ।

‘पति दिल्लीमा मजदुरी गर्छन, वर्षमा १५÷१६ हजार लिएर आउँछन, त्यही रकमले तीन छोरी र आफ्नो लालनपालन गर्नुपरेको छ’, उनले दुखेसो गरिन्, ‘छोरीकोउपचार कहाँबाट गर्नु, उपचार गर्नपाएको भए हिँड्न सक्ने हुन्थिन कि भन्ने आशा छ नि ।’

छोरीले हिँड्न सक्ने कहिले हुन्छु मम्मी भन्दा निर्मला भक्कानिरहन्छिन । ‘सवै कुरा बोल्छिन । रेडियोमा गीत आउँदा रेडियासँगै गीत गाएर हात हल्लाई बस्छिन’, निर्मलाले भनिन, ‘नाच्न खोज्छिन् तर नसक्दा घरीघरी रून्छिन । छोरीको अवस्था दिन भरि टुलुटुलु हेरेर बस्न बाहेक केही उपाय छैन् । गरिवलाई हजुर दैवले पनि दुःख दिँदोरहेछ, दैव पनि कति निष्ठुरी गरिवलाई नै सताउँदोरहेछ । पिठो चामल किनेर छाक टार्छन । जेठी छोरी सुनिता र कान्छी रचना विद्यालय जाँदा रोजिताले पढ्न मन गर्छिन ।’

बिहीबारे पुग्ने जोकोही रोजिताको अवस्था देखेर उपचारमा सहयोग गर्ने बताए पनि कसैले अहिलेसम्म सहयोग नगरेको उनले सुनाइन । बाटो हिँड्नेलाई काका, दादा, मामा, काकी भनेर रोजिताले बोलाउँदा छोरीको साह्रै पीर लाग्ने गरेको निर्मलाले सुनाइन् ।

Post Comment