प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम) को वार्षिक बैठकमा सहभागी हुन आज स्वीट्जरल्यान्ड जाँदै हुनुहुन्छ ।
नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली बेलुकी स्वीट्जरल्याण्ड जानुहुने भएको हो । विश्व आर्थिक मञ्चको बैठकमा नेपालले पहिलोपटक सहभागिता जनाउन लागेको हो ।
परराष्ट्रका अनुसार प्रधानमन्त्री ओलीले जनवरी २२ मा ‘स्ट्राटेजिक आउटलुक अन साउथ एसिया’मा र जनवरी २३ मा ‘सेपिङ दी फ्युचर अफ डेमोक्रेसी’ शीर्षकमा नेपालको तर्फबाट धारणा राख्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीले जनवरी २४ मा जी–ट्वान्टी मुलुकसहितका देशका नेताहरूसँग समेत छलफल गर्नुहुनेछ । नेपालमा आगामी मार्चमा हुन लागेको लगानी सम्मेलनलाई सार्थक पार्न तथा लगानी भित्राउन पनि मञ्च सहायकसिद्घ हुने विश्वास गरिएको छ ।
डाभोस बैठकमा विश्वका सय देशबाट राष्ट्राध्यक्ष, सरकार प्रमुख तथा प्रतिनिधिले भाग लिनेछन् भने यसमा विश्वका एक हजार वटा प्रतिष्ठित कम्पनीका प्रमुखहरुले पनि भाग लिनेछन् ।
बैठकमा संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेससहित अन्तर्राष्ट्रिय सङ्घ-संस्थाका प्रतिनिधि, नागरिक समाज, प्राविधिक विषयका अनुसन्धानकर्ता आदि भेला भई विश्वका प्राथमिकता निर्धारण तथा विश्वका औद्योगिक तथा क्षेत्रीय मुद्दाहरुको भावी रुपरेखा तयार गरिन्छ ।