अप्ठ्यारोमा ट्रम्प

अप्ठ्यारोमा ट्रम्प
जनसरोकार

अमेरिकामा संघीय सरकारी कार्यालयहरु आंशिक बन्द भइरहँदा यसको असर राष्ट्रपतिले संसदको संयुक्त सदनलाई वार्षिकरुपमा गर्ने सम्बोधनमा पनि परेको छ ।

सम्बोधनका लागि सभामुख न्यासी पेलोसीले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पठाएको निमन्त्रणा नै फिर्ता लिएपछि झन् अन्योल बढेको हो ।

‘स्टेट अफ युनियन’को सम्बोधनअघि सरकारी कार्यालयहरु खुल्नुपर्ने सभामुख पेलोसीको अडान र मेक्सिको सीमामा पर्खाल लगाउन बजेट दिएपछिमात्र आंशिक बन्द कार्यालय खुलाउने ट्रम्पको अडानका कारण अमेरिकी राजनीति अहिले थप अन्योलपूर्ण अवस्थामा पुगेको छ ।

चुनावी अभियानकैक्रममा मेक्सिकोबाट अवैध आप्रवासी प्रवेश रोक्न सीमामा पर्खाल लगाउने योजना अघि सारेका राष्ट्रपति ट्रम्प आफ्नो योजनाबाट टसको मस हुने सम्भावना देखिएको छैन । तर, ट्रम्पको योजनामा ‘कंग्रेस’ भने बाधक बनेको छ ।

६ अर्ब अमेरिकी डलर छुट्याउन नमान्दा यसको असर संघीय कार्यालयहरुमा परेको पनि लामो समय भइसकेको छ ।

संसदबाट बजेट पारित हुन नसक्दा २२ डिसेम्बरबाट संघीय कार्यालयका ८ लाख कर्मचारी तलबविहीन छन् ।

सीमा सुरक्षाको विषयले अमेरिकी इतिहासमा अहिले सबैभन्दा लामो समय संघीय कार्यालय बन्द हुन पुगेका हुन् ।

यसको असर राष्ट्रपतिबाट स्टेट अफ युनियनलाई हुने सम्बोधनसम्म तानिएको छ । जसका कारण वार्षिक नीति, कार्यक्रम तथा योजनाहरु नै पछि धकेलिएका छन् ।

यो सम्बोधन महत्वका साथ, निर्धारित् समय र स्थानमा हुने ट्रम्पको विश्वासमा ठेस लागेको छ ।

सभामुख पेलोसीले बन्द रहेका सरकारी कार्यालय नखुलेसम्म कंग्रेसमा सम्बोधन गर्न नदिने भएपछि ट्रम्पले ‘ह्वाइट हाउस’ वा अर्को स्थानबाट सम्बोधन गर्न दिइएको सल्लाहलाई भने अस्वीकार गरेका छन् ।

विवादास्पद अभिव्यक्ति र व्यवहारका कारण चर्चामा रहने ट्रम्प यसपटक भने आफ्नै अडानका कारण अप्ठ्यारोमा परेका छन् ।

बन्दको असरमा परेका कार्यालयहरुलाई कोष उपलब्ध गराउन प्रतिनिधिसभाले पारित गरेको बिललाई ट्रम्पले समर्थन नगरेसम्म उनको वार्षिक सम्बोधन आउने सम्भावना क्षीण बनेको छ ।

सीमामा पर्खाल लगाउने ट्रम्पको योजनामा विपक्षी डेमोक्र्याट्ससँगै आफ्नै दल रिपब्लिकनका पूरै सांसदहरु पनि सकारात्मक छैनन् । तर, ट्रम्पले भने यो बन्दले सुरक्षाको विषयलाई नछोएको दाबी गरेका छन् ।

अमेरिकी संविधान कंग्रेससँग राष्ट्रपति कसरी समय–समयमा संवादमा रहनुपर्छ भन्ने विषयमा मौन रहेको बताइन्छ ।

अमेरिकी राजनीतिको तेस्रो ठूलो शक्तिशाली पदमा रहेकी सभामुख पेलोसीले सरकारी कार्यालय नखुलेसम्म संयुक्त सदनमा राष्ट्रपतिको सम्बोधन कार्यान्वयन गराउन नसक्ने स्पस्ट पारिसकेकी छन् ।

तर, स्टेट अफ युनियनमा राष्ट्रपति ट्रम्पको सम्बोधन रोकिनुको असर भने अमेरिकी राजनीति थप अन्योल बन्नेसँगमात्र नभइ आमजीवनमा पनि पर्नेछ । –एजेन्सीको सहयोगमा ।

Post Comment