बाढीका कारण गाउँ डुबानमा परेपछि स्थानीयबासीले गण्डक नहरको डिल भत्काइदिएका छन् । गाउँ नै डुब्ने अवस्थामा पुगेपछि स्थानीयवासीले आज बिहानै गण्डक नहर भत्काइदिएका हुन् । गाउँ डुवानमा परेपछि बुधबार बिहानै कोदालो, गैंची लिएर स्थानीयबासी गण्डक नहरको डिल पुगेका थिए ।
त्रिवेणीमा भारतीयले बनाएको नहरका कारण नेपाली भू–भाग डुबानमा पर्दै आएको छ। त्रिवेणी हुँदै १९ किलोमिटर लामो गण्डक नहर सिचाइँका लागि भारत लगिएको छ। नहरका कारण सयौं बिघा खेत र सिंगो महलवारी गाउँ नै डुबानमा परेपछि स्थानीय आक्रोशित बनेका हुन । भारतीय नहरको डिल यहाँको खेतको सतहभन्दा निकै माथि भएका कारण वर्षेनी पानीले सहज निकास नपाउँदा हजारौँ बिघामा लगाइएको धानबाली डुबानमा पर्ने गरेको छ। स्थानीय प्रेमचन्द्र गुप्ताका अनुसार बाँधका कारण सधैँ गाउँ डुबानमा पर्ने गरेको छ । नेपाली भू–भाग डुबानमा नपार्न त्यहाँ रहेका पानीको निकासका लागि बनाइएको साइफन भारतले वर्षेनी सफा गर्नुपर्नेमा नगरेका कारण नेपाली बस्ती र खेती डुबानमा पर्ने गरेको उहाँको भनाई छ ।
१९ वर्षअघि पनि स्थानीयले त्यही ठाउँमा नहरको डिल भत्काइदिएका थिए। स्थानीयले नहरको डिल भत्काएपछि भारतीय पक्षले ४ वटा ह्युमपाइप राखेर पानीको निकास बनाएको थियो। ४ वटा ह्युमपाइ सानो भएका कारण डिल नै भत्काउन स्थानीय बाध्य भएका हुन्। हरेक पटक गाउँ जोगाउन डिल भत्काउने गरे पनि पानी भिरालोतिर बग्ने स्थायी संरचना भारतले नबनाउने गरेका कारण समस्या हुने गरेको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जानकारी दिनुभयो। सम्झौताअनुसार गण्डक नहरले पुग्ने क्षति तत्काल न्यूनिकरण गर्ने र मर्मतको जिम्मा भारत सरकारको हो।
त्रिवेणीमा बाँध बाँधेर भारतले १८ हजार क्यूसेक पानी भारतमा सिँचाइका लागि लैजाने गरेको छ। त्यहाँको पानीले भारत उत्तर प्रदेश र बिहारका ३ लाख हेक्टरमा सिँचाइ हुन्छ। तर नेपाल भने बर्सेनी डुवानमा पर्ने गरेको छ । भारतले सिंगो गाउँ डुवानमा पर्दा पनि पानीको निकास नदिएपछि स्थानीयले डिल नै भत्काइ दिएका हुन ।