प्रिय गैरआवासीय नेपाली साथीहरु,
गैरआवासीय नेपाली संघले गोर्खा जिल्लाको लाप्राकमा ५७३ घरसहितको एकीकृत नमुना वस्ती निर्माण थालनी गरेको यहाँहरुलाई जानकारी नै छ । उच्च हिमाली क्षेत्र, कमजोर पुर्वाधार र उच्च ढुवानी शुल्कका कारण प्रतिघर निर्माण लागत सरकारले तोकेभन्दा चारगुणा बढ्ने भएको छ ।
नेपालकै पहिलो एकीकृत नमुना वस्ती निर्माण गर्नु हामी सम्पूर्ण गैरआवासीय नेपालीहरुका लागि एउटा चुनौती हो । यो चुनौतीलाई अबसरमा बदल्न फेरि पनि यहाँहरु सवैको हातेमालो र साथ चाहिएको छ ।
तसर्थ, सम्पूर्ण गैरआवासीय नेपाली साथीहरुलाई राष्ट्र पुनःनिर्माणको यो अभियानमा स्वयंसेवकका रुपमा सहभागी बन्न र आफ्ना बिदेशी साथीहरुलाई समेत सहभागी बनाउन म हार्दिक आह्वान गर्दछु ।
स्वयंसेवकको दर्ता लगायत सम्पूर्ण जानकारीका लागि संघले नयाँ वेबपेज सार्वजनिक गरेको छ ।
https://www.laprakmodelsettlement.org
यो वेबपेजमा गई स्वयंसेवक बन्ने प्रकृयाबारे जानकारी लिइ दर्ता हुन म सवैमा हार्दिक अनुरोध गर्दछु ।
यो अभियानमा नेपालभित्रबाट नेपाली सेना र स्थानीय स्वयंसेवकहरु सहभागी हुनेक्रम सुरु भइसकेको छ र यतिबेला लाप्राकमा स्थानीय-नेपालमा रहेका) स्वयंसेवकहरु धमाधम निर्माण कार्यमा संलग्न हुनुहुन्छ ।
गैरआवासीय नेपालीहरुको पहिलो स्वयंसेवक टोलीलाई लाप्राकको गुप्सीपाखामा स्वागत गर्न म आतुर छु । कृपया यो सूचनालाई सवैमा सेयर गरी धेरैभन्दा धेरै गैरआवासीय नेपाली स्वयंसेवक निर्माणमा उत्प्रेरित गरौं ।
लाप्राकको गुप्सीपाखा जाउँ, राष्ट्र पुनःनिर्माणको सच्चा साझेदार बनौं ।
शेष घले
अध्यक्ष
गैरआवासीय नेपाली संघ