टेक्सस (अमेरिका)— गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको निर्वाचन समय नजिक आउँदै गर्दा नेतृत्वका प्रत्याशी संख्या पनि बढ्दो छ । नेतृत्वका लागि हल्लाखल्ला नगरेपनि भित्री रुपमा व्यापक तयारी गर्दै रहेका वर्तमान कार्य समितिका उपाध्यक्ष राम सी पोखरेलले मंगलबारदेखि आफ्नो अभियानलाई तीब्रता दिएका छन् ।
‘म झण्डै दुई दशकदेखि अमेरिकामा छु, अमेरिकामा नेपालीहरु रहेका सबै ठाउँहरुमा मैले पुगेर सुखदुखको सहयात्री भएको छु । वर्तमान कार्यसमितिमा उपाध्यक्ष भएर काम गरिसकेको छु । तसर्थ नेतृत्वका लागि मैले दावी गर्दा साथीहरुले अन्यथा लिनुहुनेछैन,’ पोखरेलले भने ।
आफु पद ओगट्नका लागि अध्यक्षको उम्मेदवार हुन नखोजेको बताउँदै पोखरेलले यहाँ रहेका नेपाली समुदायको हितका लागि आफु अध्यक्षको दावेदार रहेको बताए । ‘यतिखेर अमेरिकामा रहेका धेरै साथीहरुले किन सदस्य हुने भनेर जिज्ञासा राखिरहनु भएको सन्दर्भमा यो संस्थाको सदस्यता लिनु गर्वको वातावरण बनाउने तर्फ मेरो ध्यान र योजना छ,’ पोखरेलले भने ।
पोखरेल टेक्सस राज्यको ड्यालसमा बस्छन् । स्थानीय सामाजीक संघसंस्था नेपाली समाज टेक्सस देखि लिएर लायन्स क्लबको नेतृत्व गरिसकेका उनी व्यबसायी पनि हुन् । ‘कतिपय आफ्ना भिजनहरु कार्यान्वयन गर्न नेतृत्वमै हुनुपर्ने रहेछ, मैले दुई वर्ष उपाध्यक्ष भएर भोगेको अनुभव भनेको नेतृत्व आफ्नो हातमा रहेको अवस्थामा आफ्ना भिजनहरुलाई व्यबहारमा उतार्न सजिलो हुनेरहेछ,’ उनले भने ।
राजनीति, जातजातीका आधारमा बिभाजित अमेरिकाको नेपाली समाजलाई एकशुत्रमा गाँस्ने, एनआरएनलाई साँच्चै नेपालीको हितका लागि खोलिएको संस्था हो भनेर चिनाउने अभियान लिएर उनी उम्मेदवारीमा होमिएका छन् ।
‘मसँग गफ होइन, काम गर्ने एजेण्डा छन् । केही दिनमै ती एजेण्डाहरु लिपीवद्ध रुपमा सार्वजनि गर्दैछु,’ उनले भने आफु अमेरिकाको नेपाली समुदायका लागि दुई वर्ष पुरै खटेर काम गर्ने योजनासाथ अघि बढेको बताए ।