ड्यालस (टेक्सस)- गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको नेतृत्वका प्रवल दावेदार गौरी जोशीले आफ्नो उम्मेदवारी चुनाव जितेर पद ओगट्नका लागि मात्र नभएको बताएका छन् । ‘मेरो उम्मेदवारी चुनाव जितेर एनआरएनको अध्यक्ष हुनेभन्दा पनि अमेरिकामा रहेका नेपाली समुदायको वृहत्तर हित र विकासका लागि हो,’ जोशीले भनेका छन् ।
आइतबार ड्यालसमा आयोजित आफ्नो उम्मेदवारी घोषणा कार्यक्रम सहितको पत्रकार सम्मेलनमा जोशीले तीनवटा एजेण्डा लिएर आफु अध्यक्षको उम्मेदवार भएको बताए । उनले सेवा, सहयोग र सामाजीक एकताका लागि एनआरएनको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरे ।
टेक्ससका प्रतिष्ठित, समाजसेवीहरुलाई अगाडी राखेर जोशीले आफ्नो उम्मेदवारी घोषणा सहित नीति तथा कार्यक्रम सार्वजनिक गरे । उनले अमेरिकामा रहेको नेपाली समुदाय बिभिन्न कारणले फुटेकोमा आफुले एकजुट बनाउने घोषणा गरे ।
स्थानीय नेपाली सङ्घ संस्थासँग समन्वय गर्दै सेवा र सहयोगको भावाना लाई अगाडी बढाउदै समाजमा रहेका हरेक विचारको सम्मान गर्दै एक साझा उद्देश्य प्राप्तिका मैले यो उम्मेदवारी दिने निर्णय गरेको छु, उनले भने । जोशीले एनआरएनलाई विशुद्ध सामाजीक संस्था बनाउने उद्घोष समेत गरे ।
एनआरएनका अन्य उम्मेदवारहरुले नेपाल र नेपालीको हितका लागि आफ्नो उम्मेदवारी हुने दावी गरिरहेको समयमा जोशीले भने आफुले अमेरिकामा रहेका नेपालीको हितका लागि मात्र आफु उम्मेदवार भएको स्पष्ट पारे । ‘मेरो उम्मेदवारी यहाँ रहेका नेपालीहरुको क्षमता विकास, सहयोगका लागि हो, नेपाललाई हित हामीले गरेर संभव हुँदैन । व्यक्तिगत रुपमा मैले नेपालको कुनै ठाउँमा सहयोग गर्न सकुँला, गरिरहेको पनि छु । तर संस्थागत रुपमा हामीले हेर्ने भनेको यही रहेका नेपालीलाई हो,’ उनले भने ।
उनले यहाँ सिकेको शीप नेपाललाई दिने भन्ने कुरा असंभव रहेको बताए । ‘यहाँ हामीले के शीप सिकेका छौ अहिलेसम्म र नेपालमा लैजाने ?’ उनले प्रश्न गरे । ‘बरु नेपालबाटै अवसरको अभावमा दक्ष जनशक्ति धमाधम पलायन भैरहेका छन्,’ उनले उल्लेख गरे ।
अमेरिकामा रहेका नेपाली युवाहरुलाई एकीकृत गर्नु अहिले जरुरी रहेको उनले बताए । उनले उच्चशिक्षा अध्ययन गर्न अमेरिका आएका नेपाली विद्यार्थीहरुलाई सहयोगका लागि हेल्पडेस्क स्थापना गर्न जरुरी रहेको र त्यसका लागि आपूm तत्पर रहेको पनि उल्लेख गरे ।
टेक्ससबाटै अध्यक्षका लागि दुई उम्मेदवार भएको विषयमा उनले सहमतिमा जुनसुकै त्याग गर्न तयार रहेको स्पष्ट पारे । ‘यदी रामजी बलियो उम्मेदवार हुनुभयो भने म सहमतिमा आउन जतिखेर पनि तयार छु,’ उनले भने । सबै उम्मेदवारहरु सक्षम र योग्य भएपनि आफुसँग एनआरएनलाई अघि बढाउने अलग्गै भिजन र योजना रहेको पनि बताए ।
कार्यक्रममा समाजसेबी डा. मुरली अधिकारीले भताभुंग र लथालिंग भएको एनआरएन मुभमेन्टलाई अघि बढाउन जोशीले सार्वजनिक गरेका भिजनहरु उल्लेखनीय भएकोले सहयोग गर्न आग्रह गरे । ‘समाजसेवाको नाममा यतिखेर अमेरिकामा पानसमा बत्ति बालेर हिँडिरहनेलाई परास्त गर्न जरुरी छ,’ अधिकारीले भने ।
असाध्यै भावुक मुद्रामा प्रस्तुत भएका अधिकारीले जोशीलाई आफुले सन् २००४ देखि आत्मिय रुपमा चिनेको र २००७ मा मन्दिर स्थापनापछि नजिक भएर काम गरेको जानकारी दिए । ‘ड्यालसबाट उम्मेदवार हुनेले कसरी सामाजीक काम गर्ने भनेर अमेरिकालाई चिनाउन सक्छ, हाम्रा उम्मेदवारसँग स्पष्ट योजना छ,’ उनले भने ।
एनआरएन टेक्ससका अध्यक्ष उत्तम लामिछानेले टेक्ससबाट एकजनामात्र साझा उम्मेदवार हुनुपर्नेमा जोड दिँदै बलियो उम्मेदवारलाई अर्कोले छाडेर सहयोग गर्नुपर्नेमा जोड दिए । ‘यो पार्टी र उ पार्टी होइन, शुद्ध समाजसेवामा लागेकालाई सहयोग गर्नुपर्छ,’ उनले भने ।
यती चेम्बर अफ कमर्सका अध्यक्ष तथा समाजसेवी बासु भण्डारीले सञ्चालन गरेको कार्यक्रममा नेपाली समाज टेक्ससका अध्यक्ष कृष्ण लामिछानेले उम्मेदवारहरुलाई शूभकामना दिएका थिए । त्यस अवसरमा ड्यालस/फोर्टवोर्थमा रहेका विभिन्न संघसस्थाका प्रतिनिधिहरु , नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हरिबोल भण्डारी, जनसम्पर्क समिति अमेरिकाका पदाधिकारीहरु, प्रवासी नेपाली मञ्चसँग आवद्ध व्यक्तिहरु लगायत व्यक्तित्वहरुको बाक्लो उपस्थिती थियो ।