सरकारले अमेकिराका प्रतिष्ठित कानुनी व्यवसायी खगेन्द्र जिसीलाई एनआरएनको विषयमा सल्लाह दिने गरी अवैतानिक सल्लाहकारमा नियुक्ति गरेको छ ।
परराष्ट्र मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट जिसी अवैतानिक एनआरएन सल्लाहकार बनेका हुन् । उनी अमेरिकामा पुगेर वकालत गर्ने पहिलो नेपाली अधिवक्ता हुन् ।
एनआरएन अमेरिकाका निर्बतमान अध्यक्ष तथा बर्तमान आईसीसी सदस्य समेत रहेका जिसीलाई आजैबाट लागू हुने गरि अवैतानिक सल्लाहकारमा नियुक्त गरेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयबाट जिसीलाई दिइएको पत्रमा परराष्ट्र मन्त्रालयको क्षेत्राधिकार अन्तर्गत पर्ने कानुनी तथा नीतिगत बिषयमा गैरआवासीय नेपाली संघ एवम् अन्य बिदेशस्थित नेपाली संस्थासंग समन्वय गरी परामर्श दिन समेत सल्लाहकारमा नियुक्त गरेको मन्त्रालयले जनाएको छ । जिसीले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा आर्जन गरेको कानुन सम्बन्धीको ज्ञानलाई नेपाल सरकारले कदर गर्दै नियुक्त गरेको समेत जनाएको छ ।
परारष्ट्र मन्त्रालयले बिदेशमा नेपालीको संख्या बढेसंगै पहिलोपटक एनआरएन सल्लाहकार नियुक्त गरेको हो । नेपाल सरकारले आफूलाई सल्लाहकारमा नियुक्त गरेपछि खुशी ब्यक्त गर्दै जिसीले आफूले एनआरएनको बर्तमान नेतृत्व लगाएत सबै क्षेत्रका बिज्ञहरुलाई साथमा लिएर सरकारलाई उचित परामर्श दिने बताएका छन् ।
अमेरिकामा रहेर तीन दशक भन्दा लामो समय कानुनी पेशामा सक्रिय रहनुका साथै समाजसेवामा समेत लागेका जिसी अमेरिकाको सुपर लयरमा सूचीकृत छन् । जिसीको नियुक्तिसंगै अमेरिकामा रहेका नेपाली समुदायका अगुवाहरुले खुशी ब्यक्त गरेका छन् ।