एनआरएन अमेरिका निर्वाचन :अध्यक्षका प्रत्यासीको चुनाबी दौडधुप ,को कहाँ जादैछन् ?

एनआरएन अमेरिका निर्वाचन :अध्यक्षका प्रत्यासीको चुनाबी दौडधुप ,को कहाँ जादैछन् ?
एनआरएन विशेष
एनआरएन अमेरिकाका अध्यक्षका प्रत्यासीहरु यो सप्ताहन्त अमेरिकाका विभिन्न शहरमा चुनावी अभियानमा पुग्ने भएका छन् ।  वर्तमान अध्यक्ष डा. केशव पौडेल र अर्का सशक्त उम्मेदवार गाैरीराज जोशी अमेरिकाको पूर्वी राज्यहरूमा सदस्यहरूबीच पुग्दैछन् भने अर्की उम्मेदवार रविना थापा पश्चिमी राज्य क्यालिफोर्नियाको भ्रमणमा छिन् ।
एनअारएन अध्यक्षका उम्मेदवार पाैडेल आइतबार मेरिल्याण्ड राज्यको बाल्टिमोरमा पुग्ने भएका छन् । त्यहाँ उनले आइतबार नेपाली समुदायसँग छलफल र भेटघाट गर्ने कार्यक्रम छ ।
अर्का उम्मेदवार जोशी एनआरएन अमेरिकाका बोर्ड अफ डाइरेक्टर पदका उम्मेदवार थलराज पन्त र चुनावी अभियानको आन्तरिक व्यवस्थापकीय संयोजन गरिरहेका नेपाली जनसम्पर्क समिति, अमेरिकाका केन्द्रीय सदस्य सुन्दर गुरुङ सहित शुक्रबार टेक्ससबाट न्यू ह्याम्सायरका लागि प्रस्थान गरिसकेका छन् । जोशीको नेतृत्वमा चुनावी मैदानमा उत्रिएका अन्य पदका उम्मेदवारहरु पनि यो अभियानमा सहभागी हुनेछन् ।

जोशीको उम्मेदवारीको बारे विभिन्न चर्चा चलिरहेका बेला निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशन गर्नुपूर्व नै अध्यक्षका प्रवल दावेदारको रुपमा अगाडी देखिएका जोशी यसरी प्रचारमा निस्किएका हुन् । यो प्रचारका क्रममा जोशीले आफ्नो नेतृत्वको भिजन र उम्मेदवारीका बारे सदस्यहरुलाई अवगत गराउने र सदस्य तथा शुभेच्छुकहरुसँग अन्तरक्रिया गर्नेछन् ।

जोशीसँगै रहेका नेपाली जनसम्पर्क समिति, अमेरिकाका केन्द्रीय सदस्य गुरुङले जोशीको उम्मेदवारीको अन्यौल निर्वाचन प्रमुखको इमेलले अन्त्य गरिसकेको उल्लेख गर्दै अब जोशीलाई बाहिर राखेर एनआरएन अमेरिकाको चुनाव समेत हुन नसक्ने बताए ।

उनले भने,-‘जोशीको विषयलाई लिएर अमेरिकामा रहेको नेपाली डायस्पोरा एकढिक्का छ, एनसीसी विधान अनुसार उनी उम्मेदवार हुन पाउने नैसर्गिक अधिकार छ ।’

यस्तै अध्यक्षका अर्का प्रत्यासी रविना थापाको पनि क्यालिफोर्निया फ्रिमन्टमा चुनावी कार्यक्रम हुने भएको छ । उक्त भेलामा रविना लगायत अन्य पदका उम्मेदवारहरुपनि उपस्थित हुने आयोजकले जानकारी दिएका छन् । आइतबार दिउसो लेक इलिजावेथ पार्क फ्रिमन्टमा हुने उक्त कार्यक्रममा उपस्थित हुन आयोजकका तर्फबाट कल्पना राणाभाटले आग्रह गरेकी छिन् ।
कहाँ कहाँ जाँदैछन् जोशी ?

एनअारएन अमेरिकाका अध्यक्षका प्रभावशाली उम्मेदवार गाैरीराज जोशीले हिजो एक भिडियो सन्देश सार्वजनिक गर्दै आफु शुक्रवार न्यू ह्याम्सायर, शनिबार शनिवार बोष्टन, आइतवार न्यूयोर्क र सोमवार न्यूजर्सीका एनआरएन सदस्यहरुसँग भेटघाट र अन्तरक्रियाका लागि पुग्न लागेको जनाएका छन् ।

यसैबीच न्यू ह्याम्सायरमा रहेका नेपाली जनसम्पर्क समिति, अमेरिकाका केन्द्रीय सदस्य लोक लामाले शुक्रबार साँझ हुन लागेको एनआरएन अमेरिकाका अध्यक्षका प्रवल दाबेदार गौरी जोशीसँगको भेटघाट र छलफलका लागि आफुहरु उत्साहित रहेको बताएका छन् ।

यसैगरी शनिवार अपरान्ह बोष्टनमा जोशीले भेटघाट र छलफल गर्नेछन् । जोशी समूहका तर्फबाट एनआरएन अमेरिकाको बोर्ड अफ डाइरेक्टर पदकी उम्मेदवार तृष्णा शर्माले पनि गौरी जोशी र समुहका अन्य उम्मेदवारसँगको अन्तरक्रिया कार्यक्रममा सहभागिताका लागि सबैलाई अनुरोध गरेकी छन् |

शर्माले शनिवार अपरान्ह चार बजे हिमालयन बिष्ट्रो रेष्टुरेन्ट ( 1735 Centre St , West Roxbury ,MA ) मा हुन लागेको भेटघाट, परिचय तथा अन्तरक्रिया कार्यक्रममा सहभागी भैदिन सम्पूर्ण म्यासाचुसेट्सका एनआरएन सदस्य र शुभेच्छुकहरुलाई अनुरोध गरेकी छन् ।

एनआरएन अमेरिका निर्वाचन समितिले शनिवार उम्मेदवारको अन्तिम सूची निकाल्ने कार्यक्रम छ । आउने अगष्ट ११ र १२ तारिखमा निर्वाचन कार्यक्रम राखिएको छ ।

Post Comment