एनआरएन अमेरिका निर्वाचन: गौरी जोशीको नाम दोस्रो सूचिमा पनि परेन

एनआरएन अमेरिका निर्वाचन: गौरी जोशीको नाम दोस्रो सूचिमा पनि परेन
एनआरएन विशेष
गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको उम्मेदवार सूचि शनिबार मध्यरात प्रकाशित भएको छ । निर्वाचन समितिले मध्यरात प्रकाशित गरेको उम्मेदवारसूचिमा गौरीराज जोशीको नाम पुनः समावेश गरिएको छैन ।
गत साता प्रकाशित उम्मेदारहरुको पहिलो सूचिमा प्रकृया नपुगेर छुटेका उम्मेदवारहरु प्रायः सबैको नाम समावेश भएका छन् । एनआरएन अमेरिकाका अध्यक्षमा राम सी पोखरेल, रबिना थापा, केशव पौडेल र कृष्ण पोखरेलको नाममात्र समावेश गरिएको छ ।
एनआरएन अमेरिकाको अध्यक्षको बलिया उम्मेदवारका रुपमा हेरिएका टेक्ससका व्यबसायी जोशीको नाम समावेश नभएपछि उनका शूभेच्छुक मात्र होइनन् एनआरएनका शुभचिन्तक समेत आश्चर्यमा परेका छन् । न्यायीक समितिले शनिबारमात्रै जाेशी अध्यक्षको उम्मेदवार हुन विधान र कानुनले नरोक्ने जनाउँदै योग्य रहेकाले उम्मेदवार हुन नरोक्नु भन्ने व्यहोराको १० पेजको प्रतिवेदन निर्वाचन समितिलाइ पठाएको थियो । तर, न्यायीक समितिको प्रतिवेदनको समेत बेवास्ता गर्दै निर्वाचन समितिले मध्यरातमा नामावली प्रकाशित गरेर पदाधिकारीहरू सम्पर्कविहिन भएका छन् ।
जोशीको नाम अध्यक्षको उम्मेदवारमा रद्ध हुनुका कारणबारे निर्वाचन समितिले केही जनाएको छैन । स्वयम् उम्मेदवार जोशीलाई समेत कुनै जानकारी नदिएको उनले बताएका छन् । हिमालय खबरले यस विषयमा प्रमुख निर्वाचन अधिकृत बन्दिता शर्मा दाहालसँग प्रतिकृया लिने प्रयास गर्दा उनी उपलव्ध हुन चाहिनन् । दाहालले उम्मेदवारहरुको अन्तिम सूचि वेवसाइटमा प्रकाशित भैसकेको टेक्स्ट मेसेज पठाएर प्रतिकृया दिनबाट टाढै रहन चाहिन् ।
गत साता प्रकाशित उम्मेदवारहरुको पहिलो सूचिमा नाम समावेश नभएपछि निर्वाचन समितिले जोशीसँग विगतको एनआरएनका कार्यसमितिमा रहेर काम गरेको प्रमाण मागेको थियो । जोशीले अमेरिकामा एनआरएनको स्थापना हुनुभन्दा अघि माउसंस्थाको मान्यता पाएको न्याकको कार्यसमिति सदस्य तथा सदस्यता विस्तार समितिको संयोजकका रुपमा काम गरेको प्रमाण पेश गरेका थिए । उक्त प्रमाण पेश भएपछि प्रमुख निर्वाचन अधिकृत दाहालले जुलाई २२ मा इमेल पठाएर ‘उम्मेदवारहरुको नामावली अद्यावधिक हुँदा नाम समावेश हुने’ जानकारी दिएकी थिइन् ।
उक्त जानकारी प्राप्त भएपछि जोशी चुनावी प्रचारप्रसारमा तीब्र रुपमा अघि बढेका थिए । शुक्रबार न्यू ह्याम्पसायरमा कार्यक्रम सकेर उनी शनिबार बोष्टन पुगेका थिए । आइतबार न्यूयोर्कमा कार्यक्रम राखिएको थियो ।
‘चुनावको हारजीत आफ्नो ठाउँमा छ, जोशीको नाम उम्मेदवार सूचिमा पर्नुपथ्र्यो,’ शनिबार राति हिमालय खबरसँग जनसम्पर्क समिति अमेरिकाका एक वरिष्ठ नेताले भने । जोशीको नाम समावेश नहुँदा संस्थाको अस्तित्वमै संकट पर्ने अवस्था आएकोले अमेरिकामा रहेका सबै नेपालीहरु संयमित हुनुपर्ने स्थिती रहेको उनले बताए । झण्डै सात महिनादेखि जोशी एनआरएन अमेरिकाको अध्यक्षको दौडमा थिए ।

Post Comment