गौरीराज जोशीले आफुलाई ठूलै बुल्डोजर लगाएर ठूलै गिरोहको संलग्नतामा उम्मेदवार हुनबाट बंचित गरिएको प्रतिकृया दिएका छन् । चुनावी प्रचारप्रसारको क्रममा बोष्टनमा रहेको जोशीले भने–‘म माथि अन्याय भएको छ । यो विषयमा एनआरएनका सदस्य र सम्मानित अदालतसम्म पुग्नेछु ।’
जोशीले आफुलाई उम्मेदवार हुन कुन तत्वले रोक्यो भन्ने बारेमा आफुलाई राम्रोसँग जानकारी भैसकेको बताएका छन् । उनले आफुले सात महिनादेखि एनआरएन आइसिसी, एनसिसीका विधान अध्ययन गरेर, कानुन व्यबसायीहरुसँग सल्लाह गरेर, एनआरएनका वर्तमानदेखि विगतका अध्यक्षहरुसँग परामर्श गरेर मात्र चुनावी मैदानमा उत्रिएको उल्लेख गरे ।
एनआरएन अन्तर्राष्ट्रिय समन्वय समितिको विधानले अध्यक्षको उम्मेदवार हुन एक कार्यकाल कार्यसमिति सदस्य भएको हुनुपर्नेए प्रावधान राखेको छ । तर अमेरिकामा दर्ता भएको एनआरएन राष्ट्रिय समितिको विधानले भने दुई वर्षदेखि लगातार सदस्य रहेको व्यक्ति अध्यक्षको उम्मेदवार हुनसक्ने व्यबस्था गरेको छ ।
जोशीको उम्मेदवारी एनआरएन आइसिसीको विधानलाई टेकेर गरिएको हुनसक्ने अनुमान गरिएको छ । तर जोशीले आफु विगतमा एनआरएन अमेरिका गठन हुनुभन्दा अघि एनआरएन अमेरिकाकै रुपमा रहेर काम गरेको न्याकमा रहेर काम गरिसकेको दावी गर्दै आएका छन् । जुन तथ्यलाई एनआरएनका संस्थापक उपेन्द्र महतो, जीवा लामिछानेहरुले समेत स्विकार गर्दै आएका छन् ।
अमेरिकामा दर्ता भएको एनआरएन एनसिसीको विधानको मर्म विपरित उम्मेदवार हुन नदिइएकाले आफुसँग अदालतमा न्याय माग्न जाने र उम्मेदवार हुन नदिनुका कुकृत्यका बारेमा सदस्यहरुमाझ जानकारी लिएर पुग्ने जोशीले बताए ।
जोशी अदालतमा गएको खण्डमा अमेरिकामा एनआरएनको भविष्य अन्धकार हुने भएकाले संस्थालाई जोगाउन भएपनि उनले अब शान्त र सौम्य हुनुपर्ने सुझाव संस्थाका शूभचिन्तकहरुको छ । तर जोशीले आफुमाथि केही सिमित व्यक्तिहरुले षडयन्त्र गरेकोले एनआरएनको सफल भविष्यका लागि भएपनि अदालत जानुपर्ने वाध्यतामा रहेको बताए ।
निर्वाचन समितिले शनिबार प्रकाशित गरेको कार्यक्रम तालिकामा जुलाई ३१ सम्म उम्मेदवार उपर दावी विरोध गर्ने समयसीमा तोकिएको छ । त्यस्तै सोही दिनसम्म उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिनसक्नेछन् ।
समितिले अगष्ट ३ तारिकमा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गर्ने जनाएको छ । एनआरएनको नयाँ नेतृत्वका लागि चुनाव आउँदो अगष्ट ११ र १२ मा हुने कार्यक्रम यसअघिनै सार्वजनिक भैसकेको छ ।