एनआरएन अमेरिका निर्वाचन: छानवीन समितिको प्रतिवेदन नआएसम्म चुनावी कार्यक्रम समायोजन

एनआरएन अमेरिका निर्वाचन: छानवीन समितिको प्रतिवेदन नआएसम्म चुनावी कार्यक्रम समायोजन
एनआरएन विशेष
गैर आवासीय नेपाली संघ (एनआरएन) अन्तर्राष्ट्रिय समितिले एनआरएन अमेरिकाको निर्वाचन कार्यक्रम समायोजन गर्न निर्देशन दिएको छ ।
एनआरएन अमेरिकाको उम्मेदवारी विवाद समाधानका लागि गठित छानवीन समितिको प्रतिवेदन नआएसम्म सबै प्रकारका चुनावी कार्यक्रम समायोजन गर्नका लागि मंगलबार इमेल पठाईको छ । ‘समितिको प्रतिवेदन नअाएसम्म चुनावी कार्यक्रम समायोजन गर्न हामीले पत्र पठाएका हाैँ,’ एनअारएन अाइसिसीका महासचिव बद्री केसीले   भने । केसीका अनुसार समितिले ढिलोमा अगष्ट ५ सम्म प्रतिवेदन दिने भएकाले तत्काल सोही प्रतिवेदनका अाधारमा अघि बढ्न निर्देशन जारी हुनेछ ।
विवाद छानवीन गर्नका लागि हेमराज शर्माको संयोजकत्वमा दिलबहादुर गुरुङ र विश्व आदर्श पण्डित रहेको समिति गठन भएको छ । बेलायतमा बस्दै अाएका शर्मा एनअारएनको विधान समितिका संयोजक हुन् । त्यस्तै गुरूंग एनअारएनका संरक्षक हुन् । उनी जर्मनीमा बस्छन्। त्यस्तै एनअारएनका सल्लाहकार पण्डित पनि बेलायतकै हुन् ।
एनआरएन आइसिसीको आइतबार जर्मनीमा भएको बैठकले एनआरएन अमेरिकाका अध्यक्ष पदका प्रत्याशी गौरीराज जोशीको उम्मेदवारी योग्यता अध्ययन गरि प्रतिवेदन दिन यो समिति गठन गरेको हो । ‘समितिले ढिलोमा अगष्ट ५ सम्म प्रतिवेदन पेश गर्ने भएकोले त्यतिखेरसम्मका लागि चुनावी कार्यक्रम समायोजन गर्न’ इमेलमा निर्देशन दिइएको छ ।
महासचिव बद्री केसीद्वारा हस्ताक्षर गरेर क्षेत्रीय संयोजक सोनाम लामाको नाममा जारी निर्देशनमा ‘अध्यक्ष शेष घलेको निर्देशानुसार’ भनि उल्लेख गरिएको छ । पत्र एनआरएन एनसिसी अमेरिका, क्षेत्रीय उपसंयोजक एसी शेर्पा, निर्वाचन समितिलाई समेत वोधार्थ दिइएको छ ।
यो निर्देशन अनुसार एनआरएन अमेरिकाको चुनावी कार्यक्रम अगष्ट ५ तारिकसम्मका सबै कार्यक्रमहरु स्थगित हुनेछन् । अगष्ट ३ तारिकमा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गर्ने र ११ र १२ तारिक मतदान हुने कार्यतालिका यस अघि सार्वजनिक गरिएको थियो ।
एनआरएन अमेरिकाका अध्यक्षका प्रत्याशी गौरीराज जोशीको नाम निर्वाचन समितिले उम्मेदवार सूचिमा नपारेपछि यसको विवाद एनआरएन आइसिसीमा समेत पुगेको छ । सोही कारण जोशी उम्मेदवार हुन योग्य या अयोग्यको विषयमा छानबिन गर्न एनआरएन आइसिसीले समिति गठन गरेको हो ।

Post Comment