एनआरएन अमेरिकाको नेतृत्वका लागि मंगलवार र बुधवार हुन लागेको निर्वाचनमा आफूहरूले जित्ने ४ जना उम्मेदवारले दाबी गरेका छन् । उम्मेदवारले आफूले जित्ने दाबी गर्नु स्वभाविक भए पनि यस पटकपनि डा केशव पौडेलनै प्रतिस्पर्धामा बलियो देखिएका छन् । विगत केही साता देखि डा पौडेल प्रत्येक साता लगातार चुनावी प्रचारमा संलग्न भए । विगत ६ महिना यता उनी आफ्नो कमजोर मानिएको टेक्सस डलास त कयौँ पटक पुगे ।
डा पौडेलको विगतको जस्तो लहर छैन । अधिल्लो निर्वाचनमा उनीबाट एनआरएन अमेरिकामा केही होला भनेर आशा गर्नेहरु केही निराश भएका छन् । यसले गर्दा विगतमा डा पौडेललाई समर्थन गर्नेहरु अहिले उनलाई मतहाल्न उत्साहित छैनन् । डा पौडेल आफ्नै कार्यसमितिका उपाध्यक्षसंग प्रतिस्पर्धामा भिडिरहेका छन् ।
मतदाताहरु यो कार्यसमितिभन्दा बाहिरको नयाँ अनुहार खोजेका थिए । टेक्ससका व्यवसायी गौरी जोशी अध्यक्ष पदको दौडवाट बाहिरपछि यसको अभाव अरूले पुरा गर्न सकेन । यो डा पौडेलका लागि अनुकूल अवस्था भयो ।
निकै उतार चढाव पछि आउने साता एनआरएन अमेरिकाको नयाँ नेतृत्वका लागि निर्वाचन हुन लागेको हो । राष्ट्रिय समन्वय परिषद् र अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सदस्यका लागि मतदाता हुदैं छ ।
सेप्टेवर १० तारिख अघि नै निर्वाचन नतिजा ल्याउने गरी एनआरएन अमेरिका निर्वाचन आयोगले ५ र ६ तारिख मतदान गर्ने दिन घोषणा गरेको हो । यस पटक पनि झन्डै १५ हजार मतदाताले अनलाइन मार्फत मतदानमा सहभागी हुन सक्ने छन् ।
निर्वाचन सुर नहुदैं जनसम्पर्क समिति भने पछारिएको छ । यो एनआरएन अमेरिकाको निर्वाचनमा आफ्नो पक्ष घोषणा गरेर जाने घोषणा गरेको जनसम्पर्क समितिले गौरी दौडवाट वाहिरिएपछि पछारिएको हो ।
बिहीबार साँझ भएको बैठकमा जनसम्पर्क समितिका अध्यक्षले कृष्ण पोखेरेललाई अध्यक्षमा समर्थन गरेको जानकारी गराएका थिए । तर, यो पनि विवादस्पद बन्यो । उक्त बैठकमा डाकिएका केही उम्मेदवारले यसलाई नमान्ने वताएकाले जनसम्पर्क समिति निर्वाचन नहुदैं पराजित भएको हो ।
जनसम्पर्क समिति अनावश्यक रूपमा एनआरएनमा हाबी हुन खोज्दा पनि पछारिनु परेको हो । जनसम्पर्क समितिले अमेरिकामा मात्र होइन केन्द्रमा समेत जिताउने र हराउनेमा निर्णय भूमिका खेल्न सक्दैन भन्ने अहिले पुन पुष्टि गरेको छ । यो निर्वाचनमा पनि जनसम्पर्क समिति यति सकृय नभएको भए उपयुक्त हुने थियो ।
कुन उम्मेदवारलाई समर्थन गर्ने भन्नेमा जनसम्पर्क समितिमा पनि एक मत छैन । बिहीबारको बैठकलाई आधार मान्ने हो भने कृष्ण पोखेरेललाई संस्थापन पक्षको समर्थन रहेको देखिन्छ । तर, विभिन्न गुटमा वांडिएको जनसम्पर्क समितिका अन्य समूहले डा पौडेल र रविना थापालाई सघाईरहेका छन् ।
प्रवासी मञ्चपनि यस पटक अप्ठ्यारोमा छ । अध्यक्षमा कसलाई भोट हाल्ने भन्नेमा प्रवासी मञ्च पनि अन्यौलमै रहेको देखिन्छ । अध्यक्षका अन्य प्रत्यासीहरु रविना थापा, कृष्ण पोखेरेल र राम सी पोखरेलले डा पौडेल विरोधी मतदातालाई आकृषित गर्ने प्रयास गरिरहेका छन् । गौरी दौडवाट वाहिरिंदा डा पौडेललाई फाइदा भएको छ । तर, अन्य तिन जना उम्मेदवारपनि यसबाट फाइदा उठाउन प्रयासरत छन् । गौरीको हातमा रहेका मतकता जाला यसले नतिजालाई नै प्रभावित नपारेपनि भोट अन्तरमा भने फरक पार्ने छ ।
वरिष्ठ उपाध्यक्षमा सुनिल शाह बलियो देखिएका छन् । न्युओर्कका टेम्बा शेर्पा र शाह बिच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । उपाध्यक्षमा उर्मा कार्की, जेदु पोखरेल केही बलिया देखिन्छन् । महासचिवमा सूर्य लम्साल र पूर्ण बानिया विचनै प्रतिस्पर्धा हुने छ । यसमा कसले बाजी मार्छ भन्ने कठिन छ ।
सबैभन्दा बढी प्रतिस्पर्धा भने बोर्ड अफ डाइरेक्टर पदमा छ । बोर्ड अफ डाइरेक्टरमा ११ पदका लागि ३० जना भन्दा बढी भिडिरहेका छन् । यसमा अहिले प्रवासी मञ्चका पूर्व अध्यक्ष सञ्जय थापा, टेक्सस नेपाली समाजका अध्यक्ष कृष्ण लामिछाने, गोपेन्द्र भट्टराई, ओक्लोहामाका अमृत कट्टेल, केही अगाडी देखिन्छन् ।
डा पौडेलले प्यानल नवाउने घोषणा गरे पनि अन्तत उनको प्यानल बनेको छ । रविना थापा पनि प्यानल सहित निर्वाचनमा छिन् । कृष्ण पोखरेल गौरीको प्यानलाई नै आफ्नो समूह मानेका छन् । तर, कुनै पनि प्यानलले पुरै जित्न सक्ने सभावना भने कम छ । केही दिन यता देखि प्यानल भन्दा पनि उम्मेदवार आफू जित्ने कसरतमा छन् ।
–हिमालयखबरबाट