मेरो सबै राज्यसंग सामिप्यता ,सहयोग साथ र सद्भाव रहने छ:-उपाध्यक्ष पदका उम्मेदवार रामकुमार सुबेदी

मेरो सबै राज्यसंग सामिप्यता ,सहयोग साथ र सद्भाव रहने छ:-उपाध्यक्ष पदका उम्मेदवार रामकुमार सुबेदी
एनआरएन विशेष

आगामि बुधाबार सम्पन्न हुन गइरहेको एनआरएन अमेरिका निर्वाचनमा  उम्मेदवारी दिएका सबैले आफ्नो पक्षमा मत मागि  रहेका छन् । आफ्नो ऐजेण्डा र प्रतिबद्धता सहीत मतदाता समक्ष अपिल गर्दै आइरहेका छन्  । यसैबिचमा  उपाध्यक्ष पदका उम्मेदवार रामकुमार सुबेदिले आफुलाई मतदान गर्न अपिल गर्दै प्रतिबद्धता समेत प्रस्तुत गरेका छन् ।

म रामकुमार सुबेदी, एन आर एन अमेरिकाको सेप्टेम्बर ५ र छ मा हुन लागेको निर्वाचनको उपाध्यक्ष पदको उम्मेदवार हुँ। अमेरिका आएको डेढ दशक भन्दा बढी भयो। नेपालमा रहँदा सरकारी सेवाको अधिकृत स्तरमा पाँच वर्ष भन्दा बढी सेवा गरेको थिएँ।

नेपालमा रहँदा भाषा, साहित्य, कला, संस्कृति तथा खेलकूदको क्षेत्रमा समय र क्षमताले भ्याएसम्म योगदान गरेको थिएँ। यहाँ अमेरिकामा पनि बिभिन्न सामाजिक संघ, सँस्था, र संगठनमा रही यी र नेपाल र नेपाली, प्रवास र प्रवासीको हित र समस्या समाधानमा निरन्तर लागिरहेको छु।

अहिले मेरो योग्यता, क्षमता, अनुभव, अतिरिक्त समयलाई सामान्य प्रवासीको साधारण कल्याणमा र उहाँहरूलाई सामान्य दैनिकी जीवनमा आई परेको समाधान गर्न सकिने अबरोध, अफ्ठ्यारा र कठीनाईलाई बुझ्ने, सुल्झ्याउने असल प्रयासमा लाग्ने हेतुले एन आर एन अमेरिकाको उपाध्यक्ष पदमा उम्मेद्वारी दिएको हुँ। म गर्न नसकिने कुरा ‘”गर्छु” भन्दिन र गर्न सकिने कुरा “नाईं” भन्दिन।

आकाशबाट तारा खसाउँछु भन्दिन, यही कुरा मेरा गुरूले पढाए, समाजले सिकायो, आमा र अग्रजले सुनाए र देखाए। बिजुली, बाटो, कार र पुल नभएको ठाऊँमा साधारण परिवारमा जन्मेको, हुर्केको, बढेको र पढेको हुँ त्यसैले सामान्य नागरिकहरूको पीडा मलाई थाहा छ। यहाँ बाटो छ, बाटोको बिधि हाम्रालाई थाहा छैन, बत्ती त तर व्यथा पनि छ, कार छ तर ट्राफिक नियम बुझ्न कठीन छ।

समुन्नत र सपनाको संसार भन्ने अमेरिकामा हामी सपना देख्नै पाउँदैनौं, सपनाको खोजीमा अल्मलिरहेका छौं। उडेर आउन वा हिंडेर आउन ती सबै पहिले, अहिले र पछि पनि नेपाली हुन्, वर्तमान परिस्थितिमा उनीहरूमा त्रास छ, भय छ, चिन्ता छ, डर छ। बैध हुन् वा कागजबिहीन हुन् बर्तमान र भविष्यप्रति अहिले झन् चिन्तित छन्। हाम्रा बालबच्चाहरूको सुनौलो भविष्यमा, पारिवारिक एकतामा खलल वा अलमल देखिंदै छ। अत्याधिक कार्यबोझले हामीले हाम्रा सन्ततिहरूलाई समय र साथ दिन नसकेको कारण गलत बाटोमा, अपूरणीय क्षति जस्ता गलत निर्णयमा पुगेका छन्। हाम्रा अभिभावकहरू भाषिक ज्ञान, ट्राफिक नियमको अज्ञानमा र कानूनी र अमेरिकी प्रचलनको अभावमा कति पीडा उहाँहरूले भोग्नु भएको छ, दुखद समाचारहरू हामीले सुन्नु परेको छ। यी र यस्ता सामान्य लाग्ने र पूरा गर्न सकिने कुराहरू पनि हामीले गर्न सकेका छैनौं, वा गर्न भ्याएका छैनौं वा वा हाम्रो ध्यान गएको छैन। मेरो चिन्ता, चासो र चाहना यसैमा हुने छ। मेरो दृष्टि यतै जानेछ।
म उत्तर पूर्वी राज्यको उपाध्यक्षको लागि उम्मेदवार भए पनि मेरो सबै राज्यसगँ सामिप्यता हुनेछ, सहयोग रहने छ, साथ र सद्भाव रहने छ। निर्वाचनमा विजयी भए पश्चात होस् वा पराजय भोगौं मेरो सहयोग, मेरो कार्यक्षेत्र, लगानी मेरो क्षमता, योग्यता, अनुभव र समयले भ्याएसम्म सबै राज्यमा हुनेछ।त्यतिमात्र हैन मेरो दृष्टि, दृष्टिकोण र दृश्य उडेर आएका हुन्, वा गुडेर आएका हुन्, बैध हुन् वा, कागज अभावका आफन्त हुन्, एन आर एन का आजीवन सदस्य हुन्, वा साधारण सदस्य अथवा सदस्य नै किन नहुन् सम्पूर्ण सबैमा हुनेछ, रहनेछ, यो मेरो प्रतिबद्धता हो।
अन्त्यमा नेपालमा आएको बाढीपहिरो र अमेरिकाको टेक्सास र लुजियानामा आएको हुरिकेन हार्वेले गरेको धनजनको नोक्सानप्रति दुख प्रकट गर्दै, यहाँहरूको पीडामा म पनि साथै रहेको विश्वास दिलाउन चाहन्छु।
मलाई विश्वास गरी विजयी बनाउनु होस् यहाँहरूको विश्वासलाई विचलित हुन पटक्कै दिने छैन। मत जितौंला वा नजिताउँला मन जित्न कठीन हो, म यहाँहरूको मन जित्ने प्रयासमा छु। धन्यबाद, जय एन आर एन।
विनीत
राम कुमार सुबेदी
उपाध्यक्षका उम्मेदवार, एन आर एन ए अमेरिका

Post Comment