बिकृतीहरु भएको प्रमाण हुँदा हुँदैपनि निहुँ खोज्ने पक्षमा छैन

बिकृतीहरु भएको प्रमाण हुँदा हुँदैपनि निहुँ खोज्ने पक्षमा छैन
एनआरएन विशेष
केही विवाद र केही अन्यौलपछि अन्तत एनआरएन अमेरिकाको निर्वाचन सम्पन्न भएको छ ।
तत्काल निर्वाचन नै नहुने हो कि भन्ने परिस्थितिसम्म धकेलिएको एनआरएन अमेरिकाको निर्वाचन अहिले  सम्पन्न हुनु मात्रै पनि आफैमा एउटा उपलब्धी हो । निर्वाचन सम्पन्न गर्न सकारात्मक भूमिका खेल्नुहुने सबैलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।
यसैक्रममा, यो निर्वाचनमा मलाइ अध्यक्षको रूपमा देख्न चाहनु हुने र मत दिनु हुने सम्पूर्ण एनआरएन अमेरिकाका सदस्यहरूलाई म विशेष धन्यवाद  दिन चाहन्छु । कुनै राजनैतिक छाता बिना र कुनै निश्चित समूह वा गुटबिना  प्राप्त गरेको यो मतको मैले उच्च मुल्यांकन गरेको छु । हरेक व्यक्ति र मत मेरा लागि अमूल्य छन् । त्यसमाथि कुनै ‘राजनैतिक सफ्टवेयर’,  कुनै ‘कम्प्युटर सफ्टवेयर’ र कुनै ‘गुटगत सफ्टवेयर’को ‘म्यानुपुलेसन’ बिना पाएको मतले मेरो लागि ठूलो अर्थ राख्छ ।
विवाद र तनावका बीच कति पनि विचलित नभई निर्वाचन सम्पन्न गर्न अहोरात्र खटीनु हुने निर्वाचन समितिका प्रमुख बन्दिता दाहालका साथै उहाँको टिमका सम्पूर्ण सदस्यहरूको योगदानको पनि म उच्च मुल्यांकन गर्छु। र, यो निर्वाचनमा विजयी हुनु हुने अध्यक्ष डा. केशव पौडेल लगायत सम्पूर्ण पदाधिकारी तथा कार्यसमितिका  सदस्यहरुलाइपनि हृदयदेखि नै बधाई दिँदै सफल कार्यकालको कामना गर्दछु ।
बधाईसँगै मेरा केही शर्त वा आग्रहहरु छन्। एनआरएन अमेरिकालाई बलियो, बिवादरहित, अबिभाजित र प्रभावकारी  बनाउने शर्त वा आग्रहहरु छन् ।
निर्वाचन एउटा प्रजातान्त्रिक प्रक्रिया हो। म यो प्रक्रियालाई सधैँ सम्मान गर्छु । निर्वाचनका क्रममा के कस्ता बिकृतीहरु भए, यसमा म अनभिज्ञ भने  छैन ।
बिकृतीहरु भएको प्रमाण हुँदा हुँदैपनि बिकृतीहरुलाइ आधार बनाएर निहुँ खोज्ने पक्षमा म छैन । तर यसको यो अर्थ होइन कि आगामी दिनहरुमापनि उस्तै बिकृतीहरु गर्न नयाँ नेतृत्वलाई छुट छ । एनआरएन अमेरिकालाई बलियो र एकताबद्ध बनाउन स्विकारिएको परिणाम र दिइएको बधाई, कुनै ब्ल्यांक चेक होइन ।
बलियो, बिवादरहित, अबिभाजित र प्रभावकारी एनआरएन अमेरिकाको कल्पना गरिरहँदा हामीले सर्वप्रथम आत्ममुल्यांकन गर्नु जरुरी छ । हामीले विगतमा गरेका गल्तीहरुको पहिचान र तीनको मुल्याकंन नगरिकन, भविष्यमा राम्रो एनआरएन अमेरिकाको कल्पना गर्न सकिँदैन। भन्ने र चाहने एउटा कुरा तर गर्ने अर्कै कुराले हामीलाई फेरि पनि कमजोर, विवादित र प्रभावबहीन संस्थाको बाटो तर्फ धकेल्छ ।
यसैले म नवनिर्वाचीत एनआरएन अमेरिकाका साथीहरूलाई पहिले आत्ममुल्याकंन गर्न र विगतका कमि-कमजोरीहरुको समीक्षा गर्न आग्रह गर्दछु । जीतको खुसी त होला, तर करिब तीनलाख सदस्य छन् भनिएको संस्थामा १५ हजारपनि सदस्य नहुनु र त्यसमध्येपनि १० हजार मत समेत नखस्नुले बिजेताहरुको मनलाई चसक्क घोच्नै पर्छ । खसेका मत मध्येपनि हार्ड ड्राइभबाट फुत्त निस्केका मत हुन भने त झन् यो भन्दा लाजमर्दो र मनलाई घोच्ने कुरा के हुनसक्छ ? यसैले म अध्यक्ष लगायत नबनिर्वचीत साथीहरूलाई, पहिलो दिन देखि नै  विगतका संस्थागत वा व्यक्तिगत कमी कमजोरीहरू सच्याउने दिशामा अघि बढ्न आग्रह गर्दछु ।
कसैका प्रति बढता आग्रह वा कसै प्रती बढता पूर्वाग्रहबाट माथि उठनुस र सिङ्गो, बलियो र प्रभावकारी एनआरएन अमेरिका खडा गर्नुस । नवनिर्वाचीत साथीहरूसँग मेरो  विशेष आग्रह छ । मैले त, निर्वाचनको अभियानदेखि नै भन्दै आएको छु–नेपाली नेपाली बिच नजोडिएको साइनो जोड्ने, त्यो साइनोलाइ थप बलियो एवं प्रभावकारी बनाउने र जोडिएको त्यो बलियो साइनोलाइ अमेरिकीहरुमाझ पनि एउटा सम्पत्तिका रूपमा स्थापित गर्ने एनआरएन अमेरिकाको मुख्य उद्देश्य हुनुपर्छ । सक्षम र सिङ्गो नेपाली  मात्रै  बलियो र प्रभावकारी नेपाली हुन्छ । म त भन्छु–  नबनिर्वाचीत साथीहरू, तपाइहरु एउटा नारा नै बनाउनुस– ‘सक्षम र सिङ्गो नेपाली, अनि मात्र बलियो र प्रभावकारी नेपाली ।’
यो नारा सार्थक बनाउन मेरातर्फबाट कुनै योगदान हुन सक्छ भने म सदैव तयार छु । जिम्मेवारी दिनुस, खटाउनुस  र सक्रिय बनाउनुस , म सदैव तयार छु । तर कृपया, मैले माथि भनेजस्तो आफुहरुलाइ राजनीति, गुट वा समूह र कम्युटर ‘म्यानुपुलेशन’को साधन नबनाउनुस। यसले एक छिन जीतको मज्जा त दिलाउँछ तर एनआरएन अमेरिकालाई बलियो, सिङ्गो र प्रभावकारी चाँही बनाउँदैन ।
मत दिएका सदस्य साथीहरू त छँदैछन, सदस्य बन्न नचाहने एनआरएन अमेरिकाप्रती उदासिन साथीहरूको उदासिनतालाइ सम्झनु होस र आफना कार्यक्रमहरू बनाउनु होस । उनीहरूलाई हामी खराब होइनौ, छैनौ र हुनेछैनौ भन्ने सन्देश दिनुहोस। आपसी विवाद र चलखेलले एनआरएन अमेरिकालाई ‘लुरे’ बनाएको छ, अब तन्नेरी र हटटकाकटटा बनाउनेतर्फ लाग्नुस ।
सांँगठानीक ढाँचामा सुधार गर्नु पर्नेछ भने साँगठनीक ढाँचामा सुधार गरौँ । कुनै संयन्त्र बनाउनु पर्नेछ भने मातहतमा नयाँ संयन्त्र बनाउँ, विधानमा सुधार जरुरी छ भने विधानमा सुधार गरौँ, निर्वाचन विधिमा सुधार गर्नुपर्नेछ भने निर्वाचन विधिमा सुधार गरौँ, सबैभन्दा ठुलो कुरा कार्यशैलीमा सुधार गरौँ । संसारको सबैभन्दा शक्तिशाली देशको एनआरएन सबैभन्दा कमजोर र लुरे भएको कति पनि सुहाउँदैन, सुहाएको छैन।
मैले भन्दै आएको छु हामी जस्ता अाप्रवासीहरुको कर्तव्य र दायित्व एउटा होइन, दुईवटा राष्ट्रसँग जोडिएको छ। हामीले कर्मको मात्र सन्तुलन होइन , भावनाको पनि सन्तुलन मिलाउनु पर्नेछ । यो सानो र सामान्य कुरा होइन । निर्वाचनमा जो जो प्रतिद्वन्दी भए पनि र जो जसले जितेपनि हामीसँग कर्मभुमि र मातृभूमिको भावनाको सन्तुलन मिलाउने जस्तो ठुलो जिम्मेवारी छ ।
यही जिम्मेवारीबोध गर्दै सिङ्गो, सक्षम र संगठित नेपाली बनाउने दिशामा अघि बढन म एनआरएन अमेरिकाको नयाँ नेतृत्वसँग आग्रह गर्दछु। सर्तसहित नयाँ नेतृत्वलाई फेरिपनि बधाई ।

Post Comment