को हुन्छ अबको एनआरएनए अध्यक्ष ?

को हुन्छ अबको एनआरएनए अध्यक्ष ?
एनआरएन विशेष
विदेशमा बस्ने नेपालीको संगठन गैरआवासीय नेपाली संघ (एनआरएनए) मा चुनावी सरगर्मी बढिरहेको छ । अबको अध्यक्ष को हुन्छ ? सर्वसम्मत हुन्छ कि हुँदैन ? सर्वसम्मत नभए को को उमेदवार हुन्छन् ? एनआरएनएप्रति चासो राख्नेहरुबीच अहिले यस्तै प्रश्न उठ्ने र तर्कवितर्क हुने गरेका छन् । विदेशमा नेपालीको संख्या र प्रभाव बढ्दै जानु, एनआरएनए ७५ भन्दा बढी देशमा विस्तार हुनुले पनि अध्यक्ष पदको महत्व बढेको छ ।
एनआरएनए सञ्जाल (नेटवर्क) विस्तारको लागि पनि उपयोगी माध्यम भइसकेको छ । दशैं सकिएलगत्तै काठमाडौंस्थित हायात होटलमा एनआरएनएको विश्व सम्मेलन हुँदैछ । यही सम्मेलनले नयाँ नेतृत्व पनि चयन गर्नेछ । नयाँ नेतृत्वका लागि निर्वाचन हुन एक महिनाभन्दा पनि कम समय बाँकी रहेकाले चुनावी सरगर्मी चुलिँदै गएको हो ।
केही महिनाअघिसम्म अध्यक्ष पदका लागि उपाध्यक्षद्वय भवन भट्ट र कुमार पन्त उठ्ने भनेर चर्चामा थिए । दुवै जना अध्यक्ष पदमा उठ्ने चाहना राखेर अघि बढेका थिए । तर, केही साताअघि यो चर्चामा फेरवदल भएको छ । एक महिनाअघि हङकङमा कुमार पन्त र भवन भट्टबीच पालैपालो अध्यक्ष बन्ने सहमति भएको अनौपचारिक रुपमा सार्वजनिक भएको थियो । सहमति भएको होइन भनेर दुवै जनाले भनेका छैनन् । सहमतिका बारेमा स्पष्ट नखुलाए पनि दुवै जना भन्छन्, “सहमति गरेर जानु नै उपयुक्त हो ।”
यो सहमति हुनुको एउटा कारण जमुना घले उमेदवार बन्ने भन्ने चर्चा पनि हो । यदि अहिले आएको चर्चाअनुसार नै जमुना उमेदवार भएमा पन्त र भट्ट मिलेर जाने लगभग पक्का छ । जमुना एनआरएनए अध्यक्ष शेष घलेकी पत्नी हुन् । घले दम्पत्ति दुवैले यो चर्चालाई नकारेका छन् । तर, एनआरएनएमा घलेका निकटहरु भने जमुना उठ्ने साँचो नै हो भन्छन् । एनआरएनए अध्यक्षमा दुई कार्यकाल भन्दा बढी बस्न नपाउने विधानमा व्यवस्था छ । यही भएर जमुनाको नाम चर्चामा आएको हो । शेष दुई पटक अध्यक्ष भइसकेकाले पुनः उठ्न मिल्दैन ।
शनिबार अमेरिकामा आयोजना गरिएको एनआरएन अमेरिकाको कार्यक्रममा सहभागी हुन आउँदा धेरैले घले दम्पत्तिलाई यही चर्चाका बारेमा सोधेका थिए । अध्यक्ष घलेले होइन नै भन्ने जवाफ दिए । अमेरिकामा हालैको निर्वाचनवाट चुनिएका प्रतिनिधिको पदस्थापन कार्यक्रममा दुई रात बिताएर घले दम्पत्ति केही घण्टाका लागि क्यानडा उडेका थिए । त्यहाँ पनि एनआरएन क्यानडाको कार्यक्रममा सहभागी भए । यो दौडाहाले जमुना उठ्ने चर्चालाई थप बल भने दिन्छ । क्यानडा र अमेरिका ३०० जना प्रतिनिधिहरु एनआरएनए विश्व सम्मेलनमा सहभागी हुन पाउँछन् । करिब १५ सय प्रतिनिधिले भोट हाल्न पाउने हुँदा यो संख्या सानो होइन ।
किन जमुना उठ्ने भन्ने प्रश्नमा उनका निकट भन्छन्, “अध्यक्ष शेष घलेले सुरु गरेका काम र भिजन २०२० लाई निरन्तरता दिन जमुना उठ्दा सजिलो हुन्छ ।” एनआरएन अमेरिकाको कार्यक्रममा सम्बोधन गर्ने क्रममा अध्यक्ष घलेले आफ्नो कार्यसमितिको टिमप्रति आक्षेप लगाउने खालको टिप्पणी गरेका थिए । आफ्नो सम्बोधनमा घलेले आफूले सुधारका लागि गरेका सबै कोसिसहरु आन्तरिक कारणले सफल हुन नसकेको बताएका थिए । उनले संस्थाको आफ्नै भवन निर्माण, समायानुकूल संरचना परिवर्तन र संस्थालाई स्रोतसम्पन्न बनाउने सन्दर्भमा केही ठोस प्रगति हासिल भएपनि धेरै काम गर्न बाँकी रहेको पनि बताए । यो भनाइले पनि घलेले आफ्ना दुवै उपाध्यक्षलाई नरुचाएको संकेत गर्छ ।
जमुना उमेदवार भएको खण्डमा भवनसँग उनको प्रतिस्पर्धा हुनेछ । भवनले काठमाडौंमा आफ्नो उमेदवारी घोषणा गरिसकेका छन् । कुमार अर्को कार्यकालका लागि भवनको समर्थनमा अध्यक्ष बन्ने गरी पुनः उपाध्यक्षमा दोहोर्याउने तयारीमा छन् । भवन दुईपटक उपाध्यक्ष भइसकेकाले पनि अध्यक्षमा उठ्न नछाड्ने अवस्थामा पुगेर उमेदवारी घोषणा गरेका हुन् । कुमारको भने यो पहिलो कार्यकाल हो ।
भवनले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उमेदवारी घोषणा गरेकोमा कुमार पन्तका सहयोगीहरु भने खुसी छैनन् । दुवैजनाले मिलेर उमेदवारी घोषणा गरेको भए राम्रो सदेश जाने थियो, किन भवनले एक्लै गरे भन्ने प्रश्न उनीहरुले उठाएका छन् । कुमार स्वंयले भने भवनको उमेदवारी घोषणालाई हल्काफुल्का रुपमा लिएको देखिन्छ । गोरखामा जन्मेका भवन र कुमार दुवैलाई आफूहरुबीच प्रतिस्पर्धा निकै खर्चिलो हुन्छ भन्ने थाहा छ । निर्वाचन हारेपछि दुईमध्ये एक बाहिर बस्नुपर्ने हुन्छ । यो जोखिम लिने पक्षमा उनीहरु छैनन् ।
कुमार र भवन मिलेर गएको अवस्थामा उपाध्यक्ष पदका आकांक्षी डा. बद्री केसी पुनः महासचिवमा नै उठ्ने भएका छन् । एनआरएनएमा एक जना महिलासहित तीनजना उपाध्यक्ष हुन्छन् । अर्को उपाध्यक्ष पदका लागि अमेरिकाका सोनाम लामा, खगेन्द्र जीसीलगायतले इच्छा देखाइरहेका छन् । सोनाम घले पक्षधर मानिन्छन् । जमुना उमेदवार हँुदा सबैभन्दा ठूलो आलोचनाको विषय श्रीमान्, त्यसपछि श्रीमती भन्ने छ । त्यसैले अहिलेको चर्चाको प्रतिकृया हेरेर अघि बढ्ने रणनीति घले पक्षधरहरुको छ ।
जमुना नउठेको सन्दर्भमा फरक उमेदवार र समीकरण पनि बन्न सक्छ । २००३ मा सुरु भएको एनआरएन अभियानमा एउटा अपवादलाई छाडेर सर्वसम्मत रुपमा नै नेतृत्व चयन भएको छ । नेतृत्वका लागि चर्को प्रतिस्पर्धा भइरहेको अवस्थामा चुनावको एक दिनअघि नेतृत्व सर्वसम्मत चयन भएका उदाहरण पनि छन् । यस पटक पनि यो इतिहास दोहोरिने सम्भावना पनि छ।

Post Comment